न्यायालय विवाद गठबन्धन दलसँग छलफल गरेर चाडै निकास दिन्छौं : प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

शुक्रबार, १० मंसिर २०७८, ११ : ५७
न्यायालय विवाद गठबन्धन दलसँग छलफल गरेर चाडै निकास दिन्छौं : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयको विवादको निकास छिट्टै निस्किने आश्वासन व्यक्त गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई लिएर जारी विवादको निकासको चाडै निकाल्ने दाबी समेत गरेका छन् । नेपाल बार एसोसिएसनसँग आज बिहान छलफल गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनका दलसँग छलफल गरेर निकास निकाल्ने बताएका हुन् ।

 नेपाल बारका महासचिव लिलामणि पौडेलले कानुन व्यवसायीका कुरा सुनेपछि प्रधानन्यायाधीशका विषयमा आफू गम्भीर रहेको प्रधानमन्त्रीले बताएको जानकारी दिए । ‘प्रधानमन्त्रीले सत्तारुढ गठबन्धनममा रहेका दलहरूसँग सल्लाह गरेर छिट्टै निकास हुने कुरामा विश्वास दिलाउन चाहन्छु भन्नुभएको छ’, पौडेलले भने ।

बारले प्रधानन्यायाधीशलाई लिएर उठाएका विषयमा आफू जानकार रहेको प्रधानमन्त्रीले बताएको पनि पौडेलले जानकारी दिए । प्रधानन्यायाधीशको बहिर्गमनको विकल्प नभएको कुरा बारका पदाधिकारी र वरिष्ठ अधिवक्ताहरूले राखेको पौडेलले बताए । ‘हामीले अब उहाँको बहिर्गमनको विकल्प छैन, उहाँ बाहिरिनुपर्छ भनेका थियौं । प्रधानन्यायाधीशको बहिर्गमनका लागि भूमिका निर्वाह गर्नका लागि कार्यपालिका प्रमुखको हैसियतले भूमिका खेल्न पनि आग्रह गरेका छौं,ु छलफलमा सहभागी एक वकिलले बताए ।

प्रधानमन्त्रीसँग प्रधानन्यायाधीशबारे छलफल गर्न बारका अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य, बारका पदाधिकारी, वरिष्ठ अधिवक्ताहरू दमननाथ ढुंगाना, बद्रिबहादुर कार्की, प्रेमबहादुर खड्का, शम्भु थापा लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस