रौतहट र महोत्तरीमा विवादका बीच सुल्झियो एमाले प्रतिनिधि चयन

सफल खबर संवाददाता

विहीबार, ०९ मंसिर २०७८, १८ : २५
रौतहट र महोत्तरीमा विवादका बीच सुल्झियो एमाले प्रतिनिधि चयन

काठमाडौँ । देशैभर उत्साहका साथ सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन गरेको नेकपा एमालेले प्रदेश २ का दुई जिल्लामा भने महाधिवेशनको अघिल्लो दिनसम्म पनि प्रतिनिधि टुंगो लगाउन सकेन । महोत्तरी र रौतहटमा दुईपक्षीय विवादले प्रतिनिधि चयन हुन नसकेको हो ।

CG Hills

एमाले नेताहरुका अनुसार दुई जिल्लाका ६७ जना प्रतिनिधि प्रभू साहकी श्रीमतीसहितलाई ठाउँ दिएर हिजो दिउँसो बल्लतल्ल टुङ्गो लगाइएको छ ।

रौतहट माओवादीबाट प्रवेश गरेका प्रभु साहको गृहजिल्ला हो । साहले आफूपक्षीय प्रतिनिधिको संख्या बढाउन खोजेपछि विवाद उत्पन्न हुँदा प्रतिनिधि टुंगो लाग्न सकेको थिएन । ‘प्रभुजी एकल गर्न खोज्ने र अरु साथीहरु नमान्ने स्थिति बनेको हो’,एक नेताले भने ।

यता,महोत्तरीमा पनि पूर्वमाओवादी र रैथाने एमालेबीच विवाद हुँदा प्रतिनिधि चयन हुन सकेको थिएन । महोत्तरीमा पूर्वमाओवादी नेता एमालेको जिल्ला इञ्चार्ज छन् । बलाम्पाकीले आफूखुशी प्रतिनिधि पठाएको अर्को पक्षको आरोप छ ।

रैथाने एमालेका नेताहरुले इञ्चार्ज बलम्पाकीको निर्णय अवैधानिक भन्दै केन्द्रमा निवेदन दिएपछि विवाद चर्किएको ती नेताले बताए । एमालेको महाधिवेशन भोलिदेखि शुरु हुँदैछ । तर,हिजोसम्म पनि विवाद नसुल्झिएपछि संगठन विभागका नेताहरु छलफलनिम्ति जुटेका थिए ।

जानकार स्रोतले बताएअनुसार हिजो भैसेपाटीस्थित ग्रेस होटलमा संगठन विभाग प्रमुख विष्णु पौडेलसहितका नेताहरुले तीन घन्टासम्म छलफल गरेका थिए । छलफलमा प्रवक्ता प्रदीप ज्ञवाली, मधेशका नेता रघुवीर महासेठ, भानुभक्त ढकाललगायतका नेताहरु रहेको बताइएको छ ।