स्रोत साधनहरूको उचित व्यवस्थापन गर्न नसक्दा नेपाल गरिबी अवस्थामा पुग्यो : अर्थमन्त्री शर्मा

सफल खबर संवाददाता

विहीबार, १८ कार्तिक २०७८, १४ : २२
स्रोत साधनहरूको उचित व्यवस्थापन गर्न नसक्दा नेपाल गरिबी अवस्थामा पुग्यो : अर्थमन्त्री  शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूसँग भएका स्रोत साधनहरूको उचित व्यवस्थापन तथा परिचालन गर्न नसक्दा नेपाल गरिबी अवस्थामा रहेको बताएका छन् ।

विहीबार नेकपा (माओवादी केन्द्र) कागेश्वरी मनोहरा नगर समितिद्वारा आयोजित नेपाल सम्वत्, तिहारलगायत पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दैै उनले सो कुरा बताएका हुन् ।

‘पेट्रोलदेखि अरू सबै कुरा नेपालमै छ । तर त्यसको उचित प्रयोग, सञ्चालन, व्यवस्थापन गर्ने कमी कमजोरी र सत्तामा रहेकाहरूले त्यसतर्फ ध्यान नदिँदा आज समाजले गरिबीको अवस्था व्यहोरिरहेको अवस्था छ’, शर्माले भने , ‘यो गरिबीको अवस्थाबाट मुक्त हुनका लागि अब सरकारमा बस्नेहरू जनताको शासकका रूपमा होइन, सेवकको रूपमा रहनुपर्छ ।’

यसैगरी मन्त्री शर्माले मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले नीति बनाएर मात्र नहुने बताए । व्यक्तिको सम्पत्ति नै राष्ट्रको सम्पत्ति भएकाले सामूहिक र एकल श्रमलाई पनि जोड दिएर राष्ट्रिय अभियान चलाउन मन्त्री शर्माले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस