सत्तारुढ दलका विद्यार्थी संगठनले भने–मोतीपुर घटनाको दोषी अघिल्लो ओली सरकार

सफल खबर संवाददाता

मंगलबार, २६ असोज २०७८, १३ : ०८
सत्तारुढ दलका विद्यार्थी संगठनले भने–मोतीपुर घटनाको दोषी अघिल्लो ओली सरकार

काठमाडौँ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) निकट विद्यार्थी संगठनहरूले जारी गरेको विज्ञप्तिमा मोतिपुर घटनाको छानविन गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्न माग गरिएको छ । जनताको संविधान प्रदत्त माग राख्दा र आन्दोलन गर्न दमन नगर्न विद्यार्थी संगठनले सरकारलाई चेतावनी दिएका छन् ।

विज्ञप्तिमा घटनाको मुख्य कारणका रूपमा तत्कालीन एमाले नेतृत्वको सरकारले औद्योगिक क्षेत्र स्थापना गर्न नाममा १३३ बिघा जमिन अधिग्रहण गर्नुलाई ठहर्‍याइएको छ । ‘तत्कालीन सरकारले राज्यशक्तिको चरम दुरुपयोग गरी मोतिपुर क्षेत्रमा बसोबास गरिरहेका सर्वसाधारण जनतालाई सत्ता र शक्तिको आडमा लखेट्ने दुस्साहसको परिणाम आज मोतिपुर क्षेत्र रणमैदान भएको छ र अनाहकमा जनताको ज्यान गएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘यो घटनाको मुख्य कारण तत्कालीन प्रतिगामी सरकार र त्यसका अर्थमन्त्री भएको हाम्रो निस्कर्ष छ ।’

विज्ञप्तिमा माओवादीनिकट अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादी निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र जसपा निकट समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठको हस्ताक्षर छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) निकटका विद्यार्थी संगठनहरुले आज संयुक्त विज्ञप्ति जारी गरेर घटनाको छानविन गरी दोषीलाई कारबाहीको माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस