गण्डकी प्रदेश सरकार विस्तार, डोबाटे विश्वकर्मा मन्त्रीमा नियुक्त

सफल खबर संवाददाता

सोमबार, २५ असोज २०७८, १२ : ००
गण्डकी प्रदेश सरकार विस्तार, डोबाटे विश्वकर्मा मन्त्रीमा नियुक्त

काठमाडौँ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार मुख्यमन्त्री पोखरेलले डोबाटे विश्वकर्मालाई बिना विभागीय मन्त्रीमा नियुक्त गरेका हुन् । 

डोबाटेको सोमबार साँझ ५ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथ हुने मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले जानकारी दिए । डोबाटेको नियुक्तसँगै गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित १२ सदस्यीय मन्त्रपरिषद् भएको छ।

यसअघि तनहुँका नेपाली कांग्रेस सांसद डोबाटेलाई अन्तिम समयमा सूचीबाट हटाएर व्यवसायी विन्दुकुमार थापालाई मन्त्री बनाएको भन्दै चर्को आलोचना भएको थियो । सपथ लिन हिँडेर पनि डोबाटे बाटैबाट फर्किनुपरेको विषय बाहिरिएको थियो । 

तर, गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्न आइतबार कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा गएको बेला गण्डकी प्रदेशका नेताहरुसँग छलफल गरेर डोबाटेलाई पनि तत्कालका लागि विनाविभागीय मन्त्री बनाउने सहमति भएको स्रोतको भनााई छ ।

प्रतिक्रिया दिनुहोस