आजै मन्त्रिपरिषदलाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी

सफल खबर संवाददाता

शुक्रबार, २२ असोज २०७८, ०८ : ४४
आजै मन्त्रिपरिषदलाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी

काठमाडौं । सरकार बनेको करिब तीन महिनापछि शुक्रबार (आज) मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ । २९ असारमा सरकारको नेतृत्व सम्हालेकाक प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि किस्ता किस्तामा गरी पाँच मन्त्री र एक राज्यमन्त्री बनाएका थिए ।

२५ सदस्यीय मन्त्रिमण्डलमा प्रधानमन्त्री देउवाले पाँच जनाको भरमा तीन महिना मुलुक हाँकेका थिए । शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी भइरहेको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । बिहीबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा भएको सहमति अनुसार आज मन्त्रिपरिषदलाई पूर्णता दिन लागिएको भानुको भनाइ छ । 

विहीबार मन्त्रालय बाँडफाँडको टुंगो लगाएसँगै आज मन्त्रिपरिषदलाई पूर्णता दिइन लागिएको उनले बताए । सहमतिअनुसार नेपाली काँग्रेसले ८ मन्त्री र दुई राज्यमन्त्री पाउने भएको छ । माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । त्यस्तै, नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टी (जसपा) ले ४–४ मन्त्रालय पाएका छन् ।

कुल २५ सदस्यीय मन्त्रिपरिषदमा काँग्रेसबाट प्रधानमन्त्रीसहित मन्त्री र राज्यमन्त्री गरी ११ जनाको उपस्थिति रहने भएको छ । सरकारको नेतृत्व गरेको काँग्रेसले ८ मन्त्री र दुई राज्यमन्त्री पाउने सहमति जुटेको छ । 

यसअघि काँग्रेसले ७, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले पाँच–पाँच मन्त्री र एक–एक राज्यमन्त्री पाउने सैद्धान्तिक सहमति भएको थियो । तर, बुधबार काँग्रेसलाई धेरै वटा मन्त्रालय दिन अन्य दलहरु राजी देखिएका छन् ।  

 

प्रतिक्रिया दिनुहोस