महाधिवेशनले कार्यकर्तामा नयाँ ऊर्जा थपेको छ : प्रकाशशरण महत

सफल खबर संवाददाता

मंगलबार, १९ असोज २०७८, १७ : ५६
महाधिवेशनले कार्यकर्तामा नयाँ ऊर्जा थपेको छ :  प्रकाशशरण महत

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले पार्टीको १४औँ महाधिवेशनले कार्यकर्तामा अपूर्व उत्साह र ऊर्जा थपेको बताएका छन् । 

काठमाडौँ क्षेत्र नं ५ र नुवाकोटका वडा तथा पालिका अधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यको सम्मानमा आज यहाँ आयोजित एक कार्यक्रममा उनले पार्टीको अधिवेशनले कार्यकर्तामा उत्साह र ऊर्जा थपेको बताएका हुन् । “यो अधिवेशनको उत्साह र ऊर्जाले आउँदो निर्वाचनमा कांग्रेसलाई अत्यधिक बहुमतले विजयी गराउने सङ्कल्प पूरा गर्न थप प्रेरित गरेको छ”, सहमहामन्त्री डा महतले भने ।  

सहमहामन्त्री डा महतले पार्टीका सम्पूर्ण साथीमा देखिएको उत्साहले कांग्रेसलाई वैचारिकरुपमा सवल, सङ्गठित, अनुशासित र लोकप्रिय बनाएर आगामी निर्वाचनमा अत्यधिक बहुमतले विजयी बनाउने साझा सङ्कल्प पूरा गर्ने आत्मविश्वास बढाएको बताए । उनले नेपाली कांग्रेस नेपालमा राणाशासनको अन्त्यदेखि पञ्चायत हुँदै आजसम्म लोकतन्त्रका लागि लडेको पार्टी भएको स्मरण गर्दै अहिले पनि देशमा लोकतन्त्रलाई बलियो बनाउन नेपाली नागरिकले कांग्रेसको नेतृत्वको सरकार रोजेको बताए । 

उनले कांग्रेसको १४औँ महाधिवेशनको क्रममा वडा, गाउँ/नगर, क्षेत्र र जिल्ला अधिवेशनमा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित भएका पदाधिकारी र क्षेत्रीय तथा महाधिवेशन प्रतिनिधिलाई बधाई ज्ञापन गरे । 

प्रतिक्रिया दिनुहोस