पोखरामा पर्यटक बढेपछि व्यवसायी उत्साहित

पत्रपत्रिकाबाट

शनिबार, ०९ असोज २०७८, ०७ : ५५
पोखरामा पर्यटक बढेपछि व्यवसायी उत्साहित

पोखरा । लेकसाइडको चल्तीको रेस्टुराँ बीजीबी क्याफे गत शुक्रबार साँझ खचाखच भयो । रेस्टुराँमा भीड देखेर सञ्चालक ज्याक तामाङ हौसिए । शनिबार र आइतबार रेस्टुराँ भरिभराउ भएको देखेर उनले कोरोना महामारीअघिका दिन सम्झिए । ‘रेस्टुराँमा ग्राहक देखेर कोरोना महामारी छ भन्ने नै बिर्सिएँ,’ उनले भने, ‘अब पोखराको पर्यटन लयमा फर्किंदै छ ।’

असोज १ बाट प्रशासनले कास्कीमा निषेधाज्ञा पूर्णरूपमा फुकुवा गरेपछि पोखरा आउने आन्तरिक पर्यटकको संख्या बढेको हो । चाडबाड नजिँकिँदै गएकाले पनि देशका विभिन्न ठाउँबाट सपरिवार पर्यटक घुम्न आएका छन् । सभा, सम्मेलन, गोष्ठीले पनि पोखराको पर्यटनमा भरथेग गरेका छन् । पोखराका सबै गन्तव्य पूर्णरूपमा खुलेका छन् । धार्मिकस्थल, पार्क, भ्यु पोइन्टलगायत ठाउँमा निर्बाध घुम्न पाइन्छ । अल्ट्रालाइट, जिप फ्लायर, बन्जी, क्यानोनिङजस्ता साहसिक गतिविधि सञ्चालनमा आइसकेका छन् ।

अर्को सातादेखि प्याराग्लाइडिङसमेत सुरु हुनेछ । प्याराग्लाइडिङ सुरु गर्नुपूर्व ग्लाइडर, हार्नेसलगायत आवश्यक सामग्रीको जाँच र मर्मत कार्य भइरहेको नेपाल हवाई खेलकुद संस्था ९ना० का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । ‘अहिले उपकरण जाँचकै क्रममा छौं,’ उनले भने, ‘प्याराग्लाइडिङलाई सुरक्षित बनाएर अर्को साताबाट सुरु गर्छौं ।’

पोखराका ८० प्रतिशत होटलले पूर्णरूपमा सेवा सुरु गरेको २० प्रतिशत आंशिक खुला रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बताए । होटलमा हाल १० प्रतिशतको हाराहारीमा अकुपेन्सी छ । कोरोना महामारी ओरालो लाग्दै गर्दाको यो अकुपेन्सीले व्यवसायीको मनोबल बढाएको उनी बताउँछन् ।

‘होटलले बिदामा राखेका कर्मचारीलाई फिर्ता बोलाइरहेका छन्,’ उनले भने, ‘बिस्तारै आन्तरिक पर्यटक वृद्धि हुँदै जानेमा आशावादी छौं ।’ प्रशासनले निषेधाज्ञा हटाएसँगै लेकसाइडका रेस्टुराँमा आन्तरिक पर्यटकको चहलपहल बढेको रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेबान) पोखराका अध्यक्ष लक्ष्मण बरालको भनाइ छ । रेस्टुराँ साढे ११ बजेसम्म र डिस्को, बार साढे १ बजेसम्म खोल्न पाउने भएकोले पनि आन्तरिक पर्यटक पोखरा आएको उनी सुनाउँछन् । उनका अनुसार लेकसाइडमा रहेका अधिकांश रेस्टुराँले सेवा सुरु गरिसकेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।