सार्क परराष्ट्रमन्त्रीस्तरीय ‘साइडलाइन’ बैठक रद्ध

सफल खबर संवाददाता

बुधबार, ०६ असोज २०७८, १० : १३
सार्क परराष्ट्रमन्त्रीस्तरीय ‘साइडलाइन’ बैठक रद्ध

काठमाडौँ ।  दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन बैठक रद्द भएको छ । यसै हप्ता न्युयोर्कमा हुने भनिएको सार्क सदस्य राष्ट्रहरूबीच सहमति नजुटेकाले बैठक रद्द भएको सार्क सचिवालयले जनाएको छ ।

सार्क सचिवालयबाट सबै सदस्य राष्ट्रका परराष्ट्र मन्त्रालयलाई बैठक रद्ध भएको जानकारीसहितको पत्र पठाइसकिएको छ । सार्कको अध्यक्षसमेत रहेको नेपालको परराष्ट्र मन्त्रालयले सेप्टेम्बर २५ मा हुने भनिएको सहमति नजुटेकाले साइडलाइन बैठक नहुने जानकारी दिएको सचिवालयले जनाएको छ ।

काठमाडौंस्थित सार्क सचिवालयले संयुक्त राष्ट्रसंघको महासभाका अवसरमा हुने साइडलाइन बैठकमा कम्तीमा ६ मुलुक सहभागी हुनुपर्ने भए पनि सहमति नजुटेको बताएको छ । त्यस्तै परराष्ट्र मन्त्रालयले पनि बैठक स्थगित भएको पुष्टि गरेको छ ।

भारतीय सञ्चारमाध्यमहरूले भने पाकिस्तानका कारण बैठक रद्द भएको जनाएका छन् । पाकिस्तानले बैठकमा अफगानिस्तानबाट पनि सहभागिता हुनपर्ने कुरामा जोड दिएको बताइएको छ । तर यसबारेमा पाकिस्तानले भने औपचारिक रूपमा केही प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया दिनुहोस