सीमा आवागमनको अवस्थाबारे प्रधानमन्त्री देउवा अनभिज्ञ

पत्रपत्रिकाबाट

मंगलबार, ०५ असोज २०७८, ०८ : १०
सीमा आवागमनको अवस्थाबारे प्रधानमन्त्री देउवा अनभिज्ञ

काठमाडौं । पछिल्लो समयमा सीमाको अवस्था के छ भन्नेबारेमा प्रधानमन्त्री शेरबहादुर देउवा अनभिज्ञता जनाएका छन्। वीरगन्जबाट आएको होटेल तथा पर्यटन व्यवसायी टोलीसँगको छलफलमा उनले सीमामा सवारीसाधनको आवागमनको अवस्थाबारे अनभिज्ञता प्रकट गरेका हुन्। कोरोना बढेअनुसार सीमामा २०७६ चैत ११ देखि यता मालवाहक सवारीसाधन प्रवेशमा रोक छ। यसबीचमा औपचारिक रूपमा सीमामा आवतजावत नखोलिए पनि दैनिक हजारौं मानिसको पैदल आवागमन भने निर्वाध छ। 

यसरी सीमानाकाबाट यात्रुवाहक सवारी प्रवेशमा रोक भएको कारण वीरगन्ज र आसपासको क्षेत्रसँगै देशकै पर्यटन व्यवसाय प्रभावित रहेको भन्दै होटेल तथा पर्यटन व्यवसायीहरू प्रधानमन्त्रीसमक्ष समस्या राख्न आइपुगेका थिए। यी विषयहरूको बारेमा प्रधानमन्त्रीलाई पहिलेदेखि जानकारी नभएको उनको जिज्ञासाहरूबाट देखिएको थियो। लगातार डेढ वर्षदेखि सीमा बन्द रहेको भन्ने कुरामा उनले चासो जनाए। भारततर्फबाट नेपाली सवारीसाधन प्रवेशमा भने अहिले प्रतिबन्ध छैन।  

कोरोना कालपछि गत वर्ष कात्तिक ५ गतेदेखि भारत सरकारको केन्द्रीय गृह मन्त्रालयले परिपत्र गर्दै सबै सीमानाका र अध्ययागमन कार्यालयहरू खोल्ने आदेश दिएको थियो। त्यतिबेला नेपाल र भुटानलाई विषेश सहुलियत दिँदै यी देशका नागरिक भारतीय भूमि र बिमानस्थल भएर विदेशबाट स्वदेश फर्किनसक्ने भनेको थियो।

प्रधानमन्त्री देउवाले सोधे, ‘भारतले के गरेको छ, नेपालको गाडी जान दिएको छ रु,’ होटेल व्यवसायीले हो भनी अवगत गराएका थिए। ‘प्रधानमन्त्री सीमाको अवस्थाबारे जानकारी लिन चासो देखाउनुभयो, उहाँलाई कुराहरू पहिलेदेखि जानकारी रहेनछ,’ प्रतिनिधिमण्डलमा सहभागी मिडिया फर बोर्डर हार्मोनीका अध्यक्ष अनिल तिवारीले भने, ‘प्रधानमन्त्रीज्यू व्यक्ति मात्र होइन, संस्था हो र संस्थालाई प्रणालीले अपडेट बनाउने हो। प्रधानमन्त्रीसम्म धरातलका महत्वपूर्ण कुरा पनि पुग्दो नै रहेनछ।’ नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस