कोरोनाले बढायो स्वास्थ्य सचेतना

रासस

शनिबार, ०२ असोज २०७८, १९ : ४५
कोरोनाले बढायो स्वास्थ्य सचेतना

काठमाडौँ । कोरोनाका कारण नागरिकमा स्वास्थ्यप्रतिको चासो बढ्दै गएको छ । पछिल्लो समय स्वास्थ्य चेतना बढ्दै जाँदा कोरोना सङ्क्रमण दर मात्रै होइन, सरुवा रोगसमेत घट्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् ।

कोरोना सङ्क्रमण फैलन थालेको पछिल्लो दुई वर्षयता सरुवा रोगमा कमी आएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षा अपनाउने, नियमित हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, घरमै बनाएको परिकार खान थालेपछि सरुवा रोगमा पनि कमी आएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए । 

तथ्याङ्कमा यकिन सङ्ख्यामा यति कमी भयो भन्ने नभए पनि पछिल्लो दुई वर्षयता झाडापखाला, आऊ, हैजा र टाइफाइडको बिरामी नगन्य मात्रामा मात्रै फेला परेको उहाँको भनाइ छ ।

“अस्पतालमा उपचारका लागि आउने बिरामीको रोग हेर्दासमेत यस्ता कुरा सहजै स्वास्थ्यकर्मीले अनुमान लगाउन सकिन्छ, अहिले टाइफाइड, झाडापखाला, आऊ र हैजाजस्ता रोगका बिरामी निकै कम आएको पाइयो”, स्वास्थ्यकर्मी खनालले भने, “कोरोनाका कारणभन्दा पनि कोरोनाले हात धुने, स्यानिटाइजर तथा मास्कको अनिवार्य प्रयोग गर्ने नागरिक बढेसँगै यस्ता सरुवा रोग सर्न पाएन, पछिल्लो समय स्वास्थ्यप्रति धेरै नागरिक सजग भएकोसमेत पाइएको छ ।”

नेपालमा बर्खायाममा झाडापखलाको महामारीका कारण गाउँ नै सखाप हुने अवस्था रहे पनि अहिले त्यस्तो समाचार खासै नसुनिएको खनालको भनाइ छ । बागलुङमा कोरोनाअघि धवलागिरि अस्पतालमा झाडापखाला र टाइफाइडका बिरामीको सङ्ख्या धेरै देखिने गरे पनि अहिले निकै कम सङ्ख्यामा आउने गरेको अस्पतालले जनाएको छ । 

स्वास्थ्यसम्बन्धी सजगता, बासी, सडेगलेका खानेकुरा नखाने, नियमित हात धुने तथा मास्कको प्रयोगले खाना र हावाको माध्यमबाट सर्ने रोगमा कमी आउन थालेको छ । कोरोनाले दुई वर्षको अन्तरालमा नागरिकमा स्वास्थ्यसम्बन्धी चेतना बढेको र आफ्नो तथा परिवारको स्वास्थ्य सुरक्षा सचेततालाई जीवनशैली बनाउन थालेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले बताए ।

उनका अनुसार स्वास्थ्य सचेतना बढ्दा स्वास्थ्यसम्बन्धी विभिन्न रोगमा कमी आउने अनुमान छ । जिल्लामा पहिलो कोरोनाको लहरमा एक हजार र दोस्रो लहरमा ७४० पुगेको सक्रिय सङ्क्रमणको दर घटेर जम्मा ७६ पुगेको र कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ । 

कोरोना सङ्क्रमण दर कम भएसँगै जिल्लामा चहलपहल हुन थालेको छ भने लामो समयदेखि बन्द रहेका विद्यालय तथा पार्टी प्यालेस र धार्मिक क्षेत्र खुलासमेत गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस