ओलीका पूर्व पिएसओको करोडौंको बंगला, होला त अनुसन्धान ?

सफल खबर संवाददाता

शनिबार, ०२ असोज २०७८, १३ : २३
ओलीका पूर्व पिएसओको करोडौंको बंगला, होला त अनुसन्धान ?

काठमाडौं । केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा डिएसपी सन्तोष तामाङ उनका पिएसओ थिए । नेपाल प्रहरीका डिएसपीको मासिक तलब हाल ४० हजार तीन सय ८० रुपैयाँ छ । तलबबाट धेरै प्रहरी अधिकारीलाई घर धान्न, छोराछोरी पढाउन गाह्रो छ । तर उनै डिएसपी तामाङले हालै करिब १० करोड मूल्य बराबरको घर बनाएका छन् । 

ललितपुरको झम्सिखेलमा रहेको उनको पाँच तले घर देखेर उनका समकक्षी समेत चकित हुने गरेका छन् । आनाको करिब करोड रुपैयाँ पर्ने झम्सिखेलमा उनले सात आना जग्गामा रिसोर्ट शैलीमा भव्य भवन बनाएका छन् ।

एक सामान्य प्रहरी अधिकृतले यस्तो भव्य घर कसरी बनाउन सफल भए ? स्रोत भन्छ–प्रहरी आवरणमा डिएसपी तामाङले अवैध गतिविधि गर्दै आएका छन् । झापा घर भएका उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको आडमा समेत सम्पत्ति जोडेको साथै रसुवामा हुँदा सुन तस्कर समूहसँग मिलेर तस्करीको लाइन खुलाएर उनले मोटो रकम कमाएको स्रोत बताउँछ ।

त्यसो त उनी आफैं पनि ठेक्कापट्टाको काममा संलग्न छन् । ठमेलमा गुन्डागर्दी गर्ने उमेश लामासँगको साझेदारीमा उनले ठेक्कपट्टा गर्दै आएका छन् । उमेश लामा र डिएसपी तामाङको श्रीमतीको नाममा पबित्रा मल्टिपल जेभी र भण्डार फोटुङग नामक कम्पनी रहेको स्रोत बताउँछ । तिनै कम्पनीमार्फत उनी ठेक्कापट्टामा संलग्न छन् । साथै अवैध गतिविधिमा संलग्न समूहसँग उनको साँठगाँठ रहेको स्रोत बताउँछ ।

यो त एउटा प्रतिनिधि घटना मात्र हो । नेपाल प्रहरीमा यसरी रातारात करोडपति बन्नेहरुको संख्या ठूलो छ । तल्लो तहका प्रहरीहरु तलबबाट परिवार पाल्नै नपुगेपछि राजीनामा दिएर पलायन भइरहेका बेला ठूला नेतानिकट प्रहरी अधिकृतहरु भने पदको दुरुपयोग गरेर यसरी रातारात सम्पत्ति जोडिरहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्तिको छानबिन नै गर्न छाडेकाले पनि यसरी कमाउनेहरुको मनोबल बढेको छ । भन्न त ओली आफैँले भ्रष्टाचारीको मुखै हेर्दिन पनि भने, तर आफ्नै पिएसओ भ्रष्ट भएको उनले पत्तै पाएनन् ।

प्रतिक्रिया दिनुहोस