कांग्रेसको वडा अधिवेशन शुरु हुनै लाग्दा के भने प्रधानमन्त्री देउवाले ?

सफल खबर संवाददाता

शुक्रबार, १८ भदौ २०७८, ०९ : ११
कांग्रेसको वडा अधिवेशन शुरु हुनै लाग्दा के भने प्रधानमन्त्री देउवाले ?

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको औपचारिक प्रक्रिया आजदेखि शुरु हुदैछ । क्रियाशिल विवाद टुंगिएको ५६ जिल्लाका वडाहरुमा आज देखि २२ गतेसम्म वडा अधिवेशनहरु हुदैछन् । बाँकी जिल्लामा पनि के गर्ने भन्ने काँग्रेसको निर्वाचन समितिले नीति बनाउँदैछ ।

काग्रेसले मंसिरमा गर्न लागेको महाधिवेशनको पूर्वसन्ध्यामा रामचन्द्र पौडेल पक्षधरले पार्टी कार्यालयमा बिहिबार पत्रकार सम्मेलन गरेर आफुहरुले साझा सभापतिको उम्मेदवार खोज्ने भन्दै एक रहेको बताएका थिए । त्यसपछि प्रधानमन्त्री समेत रहेका देउवाले पनि वडा अधिवेशन शुरु हुनै लाग्दा पार्टी नेता कार्यकर्तालाई सन्देश दिएका हुन् ।

के भने देउवाले ?

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रकृया आजदेखि औपचारिक रुपमा प्रारम्भ भएको  छ । स्वदेश र विदेशमा रहेका पार्टीका सदस्यहरु, शुभेच्छुक र शुभचिन्तक सबैमा म जय नेपाल न्यानो अभिवादन व्यक्त गर्दछु । संवैधानिक बाध्यता अनुसार कोरोना महामारीकै बीच हामीले शुरु गर्नु परेको महाधिवेशनमा सर्वप्रथम सामाजिक दूरि कामय गरी सहभागि हुन नेपाली कांग्रेसका तमाम नेता तथा कार्यकर्तालाई हार्दिक अनुरोध गर्दछु ।

आज म निकै खुशी छु । ८ लाखभन्दा बढि नेपाली कांग्रेसका क्रियाशिल सदस्य आजदेखि १४ औ महाधिवेशको प्रक्रियामा सहभागि हुनु भएको छ र मैले ति सबै सदस्यहरु र नेतृत्वको जोश, जाँगर र साथको अनुभुती यतिबेला गरिरहेको छु । लोकतन्त्रको पर्यायको रुपमा रहेको हाम्रो पार्टी नेपाली काग्रेस लोकतान्त्रिक अभ्यासमा आफुलाई सधै अग्रणी सावित गर्दै आएको छ । नेपालका हरेक राजनीतिक आन्दोलनको नेतृत्व गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा पनि नेपाली कांग्रेस सधै अगाडी छ ।

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य  हो । स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र संगठनको जग मजबुत बनाउदै जन(जनमा लोकतन्त्रको रक्तसंचार गर्छ । देशभरका साथिहरुलाई लोकतान्त्रिक प्रक्रिया अनुसार सर्वसम्मत वा स्वास्थ प्रतिस्पर्धा मार्फत अधिवेशनमा सहभागि हुन अनुरोध गर्दछु । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेपाली काग्रेसलाई बलियो बनाउन जरुरी छ । नेपाली जनताले बुझिसकेका छन्, बलियो कांग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव छ । त्यसैले ‘वलियो कांग्रेस, समृद्ध देश’ भन्ने नारालाई साकार पार्न म पार्टीका हरेक तहका साथीहरुलाई आग्रह गर्न चाहन्छु ।

कांग्रेसको त्यो विगतको योगदान, जनताको भरोसा, परिपक्वता  र अनुभवका कारण मुलुकको नेतृत्व अहिले फेरि कांग्रेसकै कांधमा आएको छ । म तपाईहरुलाई जनताको विश्वास जित्ने गरेर अघि बढ्ने प्रण पनि यो भिडियो सन्देश मार्फत गर्न चाहान्छु । हामी १४ औ महाधिवेशन मार्फत शसक्त कांग्रेस बनाउने अभियानमा होमीई सकेका छौ ।

पार्टीका साथीहरूले हरेक गाउँको मुद्दासँग आफुलाई गांस्दै,  हरेक टोलको भावनाको नेतृत्व गर्दै,  ति सबै मुद्दा  र भावना सम्बोधन गर्न बलियो कांग्रेस जरुरी रहेको सन्देश हरेक घर–घरमा पुर्‍याउनु हुनेछ भन्ने विश्वास मैले लिएको छु । अन्त्यमा आजदेखि सुरु हुने वडा अधिवेशनमा सहभागि सबै आदरणीय साथीहरूलाई हार्दिक स्वागत तथा बधाई दिन चाहन्छु ।
धन्यवाद । जय नेपाल ।

प्रतिक्रिया दिनुहोस