नापी कार्यालय चितवनमा कर्मचारीको मनपरी, भुमाफियाको खटनपटनमा हिँड्ने गरेको गुनासो

सुजन अधिकारी

मंगलबार, ०८ भदौ २०७८, १९ : १७
नापी कार्यालय चितवनमा कर्मचारीको मनपरी, भुमाफियाको खटनपटनमा हिँड्ने गरेको गुनासो

चितवन । चितवनको नापी कार्यालयका कर्मचारीलाई यतिबेला मस्ती भएको छ । अहिले नापी कार्यालयमा पुरै कोठा कोठा चाहर्दा पनि एक जना कर्मचारी पनि फेला पार्न मुस्किल हुन्छ ।

कोही कर्मचारी पानी परेर कार्यालय आउन नसकेको बताएका छन् भने कोही जनै पूर्णिमाको मेजमानीले ढलिपलि गर्दै होलान् । कोही कोरोनाको बाहना बनाएर रुघाखोकी लागेको म्यासेज पठाएर घरमै लम्पसार परिरहेका होलान्  । ४१ जना कर्मचारी रहेको यो कार्यालयमा मंगलबार मध्य दिनमा हामी पुग्दा १ जना कर्मचारी मात्रै फेला परेका छन् ।

जिल्ला प्रसासन कार्यालय चितवनले बढी भिडभाड हुने सरकारी कार्यालयको सेवा प्रवाह १० गतेसम्मका लागि बन्द गरेपछि कर्मचारीहरु हाजिर गरेर भुमाफियाको खटनपटनमा हिँड्ने गरेको गुनासो बढेको छ । जिल्ला प्रशासनले कोरोनाका कारण सेवाग्राहीको काम रोके पनि कर्मचारी अनिवार्य उपस्थिति भई आन्तरिक काम गर्न निर्देशन दिएको थियो । तर कर्मचारीहरुले प्रशासनको निर्देशनको ठाडै अबंज्ञा गरेको पाइएको छ ।

मंगलबार कार्यालय पुग्दा लेखापालमात्रै फेला परेका छन् । अहिले काम नभएकाले कर्मचारीहरु कार्यालयमा नआएको उनले बताए । केही कर्मचारीको काम परेमा कार्यालय प्रमुखले सेडुल मिलाएर बोलाउने नत्र खासै कर्मचारी अहिले नआएको कार्यालयका लेखापाल यज्ञ काफ्लेले बताए । कार्यालय प्रमुख कोरोनाका कारण क्वारेन्टाइनमा रहेको र निमित्त प्रमुख पानी परेकाले कार्यालय आउन नसकेको उनको भनाइ थियो । अन्य कर्मचारीहरु अनुकुलताका आधारमा आउने उनले बताए ।

कार्यालय प्रमुख गिरिशकुमार लालकर्णले अहिले सेवाग्राहीको काम नभएकाले कर्मचारीहरुले घरमै बसेर आन्तरिक काम गरेको र केही कर्मचारी आएर अफिसमा काम गर्ने गरेको बताए । आफु पनि २० दिनदेखि कोरोना संक्रमित भएर क्वारेन्टाइनमा बसेकाले अहिले सबै कुरा प्रभावकारी रुपमा काम अगाडि बढ्न नसके पनि आन्तरिक काममा कुनै समस्या नभएको उनको भनाइ छ । सर्वसाधारण सेवाग्राहीको लागि सेवा प्रवाह रोकेका बेला केही कर्मचारीहरु भुमाफियासँग मिलेर जग्गा कित्ता काटमा सक्रिय हुन थालेको समेत सेवाग्राहीहरुले बताएका छन् । 

यो कार्यालयमा सेवा प्रबाहमा सहजता हुन नसकेको र बिभिन्न बाहनामा कर्मचारीले सेवाग्राहीलाई दुख दिने गरेको एक सेवाग्राहीले बताए । यहाँको कार्यालय परिसर पनि निकै अस्तब्यस्त र अव्यवस्थित रहेको छ । कार्यालय प्रमुख कर्णले प्रभावकारी रुपमा कार्य सन्चालन गर्न नसकेकोले कर्मचारीमा मनोमानी प्रवृत्ति बढेको स्वयम कर्मचारीहरु नै बताउँछन् । 
 

प्रतिक्रिया दिनुहोस