लगातारको वर्षाले मेलम्चीका ३४ घर पहिराको जोखिममा

रासस

आइतबार, ०६ भदौ २०७८, १२ : ५५
लगातारको वर्षाले मेलम्चीका ३४ घर पहिराको जोखिममा

मेलम्ची । लगातारको वर्षाले मेलम्ची नगरपालिका– ८ केउरानीका ३४ घर जोखिममा परेका छन् । पहिराका कारण खैरेका २७ र छाँयालीका सात घर जोखिममा परेका हुन्। स्थानीयवासी कान्छामान दोङका अनुसार पोहोरदेखि नै पहिरो जान थालेका ठाउँमा यसपाली पनि पहिरो आएर खैरेका बस्ती जोखिममा परेका हुन् । निरन्तर पहिरो खस्न थालेपछि स्थानीयवासी त्रसित भएको उनले बताए ।

पटकपटक वडाका  प्राविधिकलाई यसबारे जानकारी गराउँदा पनि चासो नदिएको उनले गुनासो गरे । वडा नं ८ का वडाध्यक्ष ठकराज गिरीले उनीहरुलाई तत्काल अस्थायी बासको व्यवस्था गर्नुपर्ने बताए ।

यसअघि जिल्ला विपत् व्यवस्थापन समितिलाई जानकारी गराई बस्तीको विज्ञसहित अनुगमन गर्न आग्रह गरिएको तर सुनुवाइ नगरेको उनको भनाइ छ । वडाध्यक्ष गिरीले तत्काल नगरपालिकामा जानकारी गराइ प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन लागिपर्ने प्रतिबद्धता जनाए  । उनले भूर्गवविद्को टोली ल्याई बस्तीको अध्ययन गराउनुपर्ने बताए ।

१७ परिवारलाई राहत वितरण

पहिराले प्रभावित मेलम्ची–६ नेपाने बगरटोलका १७ परिवारलाई राहत वितरण गरिएको छ । स्थानीयवासी भीमसेन थापाको आग्रहमा  मेलम्ची–४ थकनी निवासी गरिमा भोएज ट्राभलका  सञ्चालक  हाल इटालीमा रहेका रवीन्द्र अर्यालमार्फत प्राप्त रु एक लाख १७ परिवारलाई वितरण गरिएको हो ।

घरवारविहीन, आर्थिक अवस्था कमजोर भएका तथा परिवार सङ्ख्याका आधारमा पीडित घरपरिवारलाई नगर प्रमुख डम्बर अर्यालले हस्तान्तरण गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस