राप्ती वडा नम्वर २ का ५२ युवा विप्लव नेतृत्वको नेकपामा प्रवेश, संसदीय व्यवस्थाको उत्तम विकल्प वैज्ञानिक समाजवाद

प्रकाश सिग्देल

शनिबार, ३० साउन २०७८, १७ : ४०
राप्ती वडा नम्वर २ का ५२ युवा विप्लव नेतृत्वको नेकपामा प्रवेश, संसदीय व्यवस्थाको उत्तम विकल्प वैज्ञानिक समाजवाद

चितवन । विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चितवनमा संगठन विस्तार कार्यक्रमलाई आक्रामक रुपमा अगाडि बढाएको छ । प्रतिवन्ध फुकुवा भएर खुल्ला राजनीतिमा आएपछि पार्टीले अहिले देशव्यापी रुपमा संगठन विस्तार र पार्टीको योजना जनतामाझ अगाडि बढाउदै लगेको हो ।

शनिबार मात्रै पु्र्वी चितवन राप्ती नगरपालीका वडा नम्वर २ का ५२ जना युवा अन्य पार्टी परित्याग गरी नेकपा पार्टीमा प्रवेश गरेका छन् । वडाको वडा भेला कार्यक्रममा ५२ जना युवाहरु पार्टीको नीति र कार्यक्रमलाई साथ दिदै पार्टीमा समाहित भएको वडा इन्चार्ज राम सेडाईले बताए । पार्टीको योजना र कार्यक्रमप्रति युवाहरुको आकर्षण बढेकाले पार्टी प्रवेश गर्ने युवाहरुको लहर चलेको उनको भनाई छ ।

पार्टीले चितवनमा संगठन बिस्तारलाई आक्रामक रुपमा अगाडि बढाउदै बैज्ञानिक समाजवाद र यसका लागि पार्टीले अगाडि सारेको जनमत संग्रहका सन्दर्भमा नागरिकलाई सुसुचित गर्दै लगेको चितवन जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य सन्देश पौडेलले बताए ।

पार्टीले अहिले धमाधम संगठन विस्तार र कार्यकर्तालाई पार्टीको एजेण्डा र भावि योजनाका बारेमा प्रशिक्षण दिएको उनको भनाई छ । वर्तमान संसदिय राजनीतिले देशलाई निकास दिन नसक्ने भएकाले आफुहरुले यसको विकल्पको रुपमा जनमत संग्रह मार्फत बैज्ञानिक समाजवाद ल्याउनु पर्ने एजेण्डा अगाडि सारेको र यसलाई जनताले साथ दिएको उनले बताए । बैज्ञानिक समाजवादले मात्रै जनताको चाहाना पुरा हुने र त्यसका लागि वर्तमान संसदिय व्यवस्था फाल्नका लागि जनमत संग्रहमा जानुपर्ने उनको भनाई छ ।

घरखेत बेचेर उपचार गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ : डा. प्रकाश चन्द

कार्यक्रममा अखिल नेपाल जनस्वास्थ्य कर्मी महासंघका महासचिव डा. प्रकाश चन्दले स्वास्थ्य र शिक्षा नागरिकको आधारभुत आवश्यकता भएकाले हरेक नागरिकले सर्वसुलभ रुपमा स्वास्थ्य र शिक्षा पाउनु पर्ने बताए ।

स्वास्थ्य उपचारमा नागरिक माथि गरिने लुट आफुहरुलाई कुनै पनि हालतमा मान्य नहुने र आफनो संगठनले सरकारी र अन्य अस्पतालको स्वास्थ्य सेवा लाई गुणस्तरीय, सर्वसुलभ र प्रभावकारी बनाउन पहल गरिरहेको बताए ।

कोही मान्छे बिरामी भएर अस्पताल पुग्दा घरखेत बेचेर उपचार गर्नुपर्ने अवस्थाको अन्त्य गर्न अव एक पटक युवाहरु स्वास्थ्य क्षेत्रका माफियाका विरुद्ध कडा रुपमा मैदानमा उत्रन आवश्यक रहेको चन्दको भनाई छ ।

आफु सर्वसुलभ प्रभावकारी स्वास्थ्य र शिक्षा नागरिकले पाउनुपर्छ भन्ने मुल एजेण्डामा केन्द्रित भएको र त्यसका लागि देशव्यापि अभियान केन्द्रित गर्ने उनको भनाई छ । नागरिकको आधारभुत आवश्यता प्राप्तीका लागि सबै युवाहरु अव एक भएर यो व्यवस्था विरुद्ध सङ्घर्ष गरेर जनताको अधिकार स्थापित गर्न पर्ने उनको तर्क छ ।युवाहरुको प्रवेशले पार्टीलाई जिवन्त बनाउने डा.चन्दले बताए ।

कार्यक्रममा सयौंको संख्यामा स्थानिय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस