जहाँ मान्छेले होइन, हाँसले गोड्छ खेतको धान

पत्रपत्रिकाबाट

मंगलबार, २६ साउन २०७८, ०८ : २९
जहाँ मान्छेले होइन, हाँसले गोड्छ खेतको धान

काठमाडौं । मान्छेले खेतमा गर्ने काम हाँसले गर्छ भन्ने सुन्दा आश्चर्य लाग्न सक्छ । यस्तै अपत्यारिलो काम  झापाका  एक  किसानले  पालेका  हाँसले  गरिरहेका छन् ।  ती  हाँस  धान  गोड्न  प्रयोग  भएका  छन् । 

 गौरादह नगरपालिका–७ का धनञ्जय चुडालको खेतमा पालिएका आठ  सयवटा  स्थानीय  जातका  हाँसले  धान  गोड्दै आएका हुन् । नेपालमा  पहिलो  पटक  निजी  क्षेत्रबाट  स्थापना भएको  राष्ट्रिय  खाद्यान्न  बैङ्क  लिमिटेडको  लगानीमा परीक्षणस्वरूप  धान  गोड्न  खेतीमा  हाँस  छोडिएको  हो । 

उक्त बैङ्कका कार्यकारी अध्यक्ष शङ्करनाथ उप्रेतीले यस वर्ष  आफूहरूको  पनि  परीक्षणको  वर्ष  हो  भन्दै  नेपालमा पहिलो पटक जापानी राइस डग फार्मिङ प्रविधिको प्रयोग गरेर धान खेतीमा लगाइएको बताए । उनका अनुसार धानमा लाग्ने रोग, कीरा नियन्त्रण गरी  उत्पादकत्व  बढाउने  गर्ने  उद्देश्यले  खेतमा  हाँसलाई धान  गोड्ने  खेतालाका  रूपमा  प्रयोग  गरिएको  हो । जसले  गर्दा  मानिसले  धान  गोडिरहनु  पर्दैन ।  यस्तो  कृषि विधि  जापानमा  सबैभन्दा  बढी  प्रयोग  गरिन्छ । 

 यसले अन्य  अवस्थाभन्दा  २०  प्रतिशत  उत्पादन  वृद्धि  हुने जनाइएको छ ।  हरियो  फिरेको  रोपोको  पानीमा  चरिरहेका  हाँसले आफ्नो  चारो  खोज्ने  क्रममा  धानका  गाँजालाई  गोड्छन् । यसरी  धान  खेतमा  हाँसले  चुच्चो  र  खुट्टाले  पनि  माटो चलाउने  गर्दछन् ।  

माटो  निरन्तर  चलाएपछि  धानलाई गोडमेल पुगेर बढ्न आवश्यक मद्दत पुग्ने गर्दछ । त्यसो  गर्दा  अन्य  झारपातसमेत  उम्रन  पाउँदैनन् । कीरा,  फट्याङ्ग्रा  सबै  हाँसले  खाने  हुनाले  हाँसलाई  पनि आहारा पुग्छ र धानको रोग नियन्त्रण हुने अध्यक्ष उप्रेती जानकारी दिए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस