लडाईँका लागि ट्रम्प तयार भएको उत्तर कोरियाको निष्कर्ष

एजेन्सी

सोमबार, १८ मंसिर २०७४, ११ : ५३
लडाईँका लागि ट्रम्प तयार भएको उत्तर कोरियाको निष्कर्ष

उत्तर कोरियाका अनुसार दक्षिण कोरियासँगको सबैभन्दा ठूलो हवाई लडाकू अभ्यासपछि ट्रम्प भयङ्कर आणविक लडाईँका लागि आतुर भइरहेका छन् । यसअघि उत्तर कोरियाको आणविक मिसाइल परीक्षणलगत्तै अमेरिकाले पनि त्यहाँको आकाशमा हतियारले भरिएका लडाकू विमान उडाएको थियो ।

दक्षिण कोरियासँग मिलेर गरिरहेको विभिन्न सैन्य अभ्यासपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आत्मविश्वास बढ्दै गएकाले उनले युद्धको वातावरण सिर्जना गरिरहेको उत्तर कोरियाको भनाइ छ ।

उत्तर कोरियाको समाचार एजेन्सीले यसबारेमा थप जानकारी दिँदै भनेको छ, ‘अमेरिकाको लापरवाहीपूर्ण बयान र युद्धकै बाटो रोज्ने  मानसिकताले कोरिया लगायत पूरै विश्वलाई विनाश गर्नेछ । त्यसकारण यसपछिको भयानक स्थितिको जिम्मा पनि अमेरिकाले नै लिनुपर्ने हुन्छ  ’ उत्तर कोरियाको परराष्ट्र मन्त्रालयले शनिबार यस्तो बयान दिएको बताइएको छ ।

योनहाप समाचारले दक्षिण कोरियामा अमेरिकाबाट ६ वटा विशाल लडाकू विमान भित्रिएको खबर गरेपछि नै उत्तर कोरियाले यस्तो बयान सार्वजानिक गरेको हो । अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासका लागि भन्दै उत्तर कोरियासामु ताकत् प्रदर्शन गर्न अमेरिकाले विमानहरु पठाएको योनहापले बताएको छ ।

हालका दिनहरुमा अमेरिका र उत्तर कोरियाबीचको तनावले झनै गम्भीर रुप लिएपछि विश्वविद्हरुले यसको परीमाण राम्रो नहुनेमा चिन्ता व्यक्त गरिरहेका छन् । पछिल्लो महिना पनि उत्तर कोरियाको राष्ट्रिय संचार माध्यमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै उत्तर कोरियालाई युद्धका लागि उक्साइरहेको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस