मेलम्ची बाढी अपडेट : हालसम्म ६० घर टहरा बगायो, बाहुनेपाटी पुल जोखिममा

रासस

सोमबार, १८ साउन २०७८, १० : १८
मेलम्ची बाढी अपडेट :  हालसम्म ६० घर टहरा बगायो, बाहुनेपाटी पुल जोखिममा

सिन्धुपाल्चोक । शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६० घर टहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ तथा मेलम्चीमा पाँच घरटहरा बगाएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए । 

उनका अनुसार गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गए रातिको बाढीले बगाएको हो । ती घर खाली थिए । उनका अनुसार चनौटे ग्याल्थुम र ढुङ्गे्र बजार जोखिममा छन् । हेलम्बु गाउँपालिका–४ को ढुङ्गे्र बजार पनि जोखिममा रहेकाले प्रहरी र सेनाले स्थानीयवासीका घरबाट सामान सार्न सहयोग गरिरहेका अधिकारीले बताए । उनले जोखिम कायमै रहेकाले सजग रहन सम्पूर्णमा आग्रह समेत गरेका छन् । 

बाढी चनौटे बजार भएर बगिरहेको छ । यसअघिको बाढी पनि यही बजारबाट बगेको थियो । खोलालाई पुरानै धारमा फर्काएर बजार जोगाउन प्रयास भइरहेको थियो । बाढीले मेलम्ची नगरपालिका–१२ मा रहेको मध्यपहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने एकमात्र बाहुनेपाटी पुल जोखिममा परेको छ ।

यसअघि गत असार १ गतेको बाढीबाट जोगिएको बाहुनेपाटी बजार अहिले भने जोखिममा छ । त्यस्तै बाढीले चार गोठ, एक पक्की पुल र एक झोलुङ्गे पुल बगाएको छ । त्यस्तै एक फर्निचर उद्योग र एक रेडियोको भवन पनि बाढीले बगाएको छ । यस्तै बाढीले हेलम्बुका दुई पक्की पुल र दुई घरको अवस्था अज्ञात छ । हेलम्बु–२ को कात्तिके खोलामा रहेको पक्की पुल, हेलम्बुका वडा नं १ र २ जोड्ने घट्टे खोलामाथिको पक्की पुलको अवस्था थाहा हुन नसकेको हो । 

प्रतिक्रिया दिनुहोस