महन्थ ठाकुरले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिट न्यायाधीशद्वय खतिवडा र चुडालको संयुक्त इजलासमा

सफल खबर संवाददाता

शुक्रबार, १५ साउन २०७८, ११ : ५७
महन्थ ठाकुरले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिट न्यायाधीशद्वय खतिवडा र चुडालको संयुक्त इजलासमा

काठमाडौं । जनता समाजवादी पार्टीका पूर्वअध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटमाथि सर्वोच्चमा आज पनि सुनुवाइ हुँदैछ । पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’ रोक्न माग गर्दै ठाकुरले पक्षले ८ साउनमा सर्वोच्चमा रिट हालेका थिए ।

आज न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा। कुमार चुडालको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको छ । सर्वोच्च अदालतले १० साउनमा सुनुवाइको क्रममा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

न्यायाधीश कुमार रेग्मीको इजलासले निर्वाचन आयोगमा यसबारे खुल्ला बहस पैरवी गराई निर्णय भएकाले दुवै पक्षसँगको छलफल पछि मात्रै अन्तरिम आदेश दिने, नदिनेबारे निर्णयमा पुग्ने उचित हुने ठहर गरेको थियो । त्यसका लागि आज मिति तोकिएको थियो ।

निर्वाचन आयोगले ११ साउनमा कार्यकारिणी समिति सदस्यको बहुमत संख्याको आधारमा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस