नेपाल वायुसेवा निगमको निजीकरणबारे डा. भट्टराईको प्रश्न - क्रोनी क्यापिटालिज्मको यो भन्दा नग्नरुप अरु के हुन सक्छ ?

सफल खबर संवाददाता

आइतबार, २७ असार २०७८, ११ : १८
नेपाल वायुसेवा निगमको निजीकरणबारे डा. भट्टराईको प्रश्न - क्रोनी क्यापिटालिज्मको यो भन्दा नग्नरुप अरु के हुन सक्छ ?

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल वायुसेवा निगमलाई निजीकरण गरिन लागिएकोबारे चर्को आलोचना गरेका छन् । 

आइतबार ४ बुँदे अपील जारी गर्दै डा भट्टराईले नेपाल वायुसेवा निगमलाई पब्लिक लिमिटेडको रुपमा नयाँ कम्पनी दर्ता गर्ने र शतप्रतिशत शेयर निजी क्षेत्रलाई जिम्मा लगाउन खोजिनु अत्यन्त निन्दनीय र घृणित रहेको उल्लेख गरेका छन् । 

‘ यसको भित्री अभिष्ट भनेको उनको नजिकका दलाल पुँजीपतिहरुलाई नै संस्थान पोष्नु रहेको छ’, भट्टराईले भनेका छन्, ‘क्रोनी क्यापिटालिज्मको यो भन्दा नग्नरुप अरु के हुन सक्छ ? आफू सरकारमा रहने अनि आफैले उड्डयन व्यवसाय सम्बन्धमा कुनै अनुभव र ज्ञान नभएका आसेपासे, हुक्के बैठकेहरुलाई प्रबन्ध निर्देशक तथा सञ्चालक सदस्यहरु नियुक्त गर्ने, तिनीहरुबाट हुने नहुने अनेकौं क्रियाकलापहरु गराउने र संस्थानलाई धरासायी तुल्याएपछि संस्थान चलेन भनेर संस्थानको बचेखुचेको सम्पत्तिलाई कौडीको मूल्यमा निजीकरणको नाममा आफ्ना निकटस्थ दलालहरुलाई बिक्रि गर्ने जुन षड्यन्त्र भैरहेछ त्यो कुनै पनि हालतमा नेपाली जनतालाई सह्य छैन ।’

उनले निगमलाई निजीकरण गर्न खोजिनुको पछाडि थुप्रै प्रश्नहरु अनुत्तरित रहेका रहेको उल्लेख गर्दै ‘के ओली सरकारसँग त्यसको जवाफ छ ?’ भन्दै प्रश्न गरेका छन् ।