रौतहटमा दुई पक्षबिच झडप हुँदा १० जना घाईते, आधा दर्जन मोटरसाईकल खरानी

सफल खबर संवाददाता

शुक्रबार, २५ असार २०७८, १२ : २६
रौतहटमा दुई पक्षबिच झडप हुँदा १० जना घाईते, आधा दर्जन मोटरसाईकल खरानी

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका ( ८ बस्तिपुरमा दुई पक्ष बिच झडप हुदा १० जना घाईते भएका छन् ।  त्यसक्रममा आधादर्जन बढी मोटरसाइकल समेत आगो लगाएर जलाईएको छ । 

सार्वजनिक जग्गाको विषयलाई लिएर दुई पक्षबिच झडप भएको हो । बिहीबार राती १० बजे १० वटा मोटरसाइकलमा गाउँबाहिरबाट आएका मानिस र बस्तिपुरबासीबीच झडप भएको प्रहरीले जनाएको छ ।  झडपमा विवेक चौधरी, आकाश चौधरी, मुथुन कुमार चौधरी, बच्चु चौधरी लगायत घाइते भएका छन् ।  उनीहरुको चन्द्रपुरस्थित अस्पतालमा प्रहरीको निगरानीमा उपचार भैरहेको रौतहटका प्रहरीले जनाएको छ । 

स्थानियबासीहरुका अनुसार स्थानीय श्रीराम चौधरीले गाउँको  १ बिगहा १८ कठ्ठा सार्वजनिक जग्गा जालझेल गरि केही समय अघि आफ्नो नाममा गराएका थिए ।

उक्त घटना सार्वजनिक भएपछि गाउँलेहरुले सार्वजनिक जग्गा फिर्ता गर्न पटक पटक गरेपनि चौधरीले जग्गा फिर्ता गर्न नमानेपछि झडप भएको हो । सोही विषयलाई लिएर सवै गाउँले एकातिर र चौधरी परिवार अर्कोतिर छन् । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस