रु १४ अर्ब ३४ करोड बराबरको आइपिओ बिक्रीका लागि अनुमति

रासस

शनिबार, १९ असार २०७८, १५ : २७
रु १४ अर्ब ३४ करोड बराबरको आइपिओ बिक्रीका लागि अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको हालसम्म कूल १८ कम्पनीलाई साधारण शेयर आइपिओ बिक्रीको अनुमति दिएको छ । बोर्डको विवरणअनुसार पछिल्लोपटक युनियन लाइफ इन्स्योरेन्स कम्पनीले अनुमति पाएको छ । सो कम्पनीले रु ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री गर्न पाउने अनुमति पाएको छ ।

बोर्डले दिएका अनुमतिका आधारमा हेर्दा कूल रु १४ अर्ब ३४ करोड २३ लाख २५ हजार १०० बराबरको साधारण शेयर बिक्री हुनेछ । पछिल्ला दिनमा नेपालको धितोपत्र बजारमा विस्तारित भएको छ । बोर्डका अनुसार २०७७ असारमा कूल १७ लाखको हाराहारीमा रहेको हितग्राही खाताको सङ्ख्या शतप्रतिशतले वृद्धि भई रु ३५ लाख नाघेको अवस्था छ ।

यस्तै रु सात लाखको हाराहारीमा रहेको मेरो शेयर खाताको सङ्ख्यासमेत एक वर्षको अवधिमा साढे तीन गुणा बढीले वृद्धि भई २६ लाख पुगेको छ । यस्तै प्राथमिक सार्वजनिक निष्काशनमा मुस्किलले पाँच लाख जनाले भाग लिने गरेकामा पछिल्लो पटकसम्म आइपुग्दा त २१ लाखले आवेदन दिएका छन् ।

पछिल्लोपटक सार्वजनिक निष्काशन गरेको जीवन विकास लघुवित्तको साधारण शेयरमा २० लाख ८४ हजार ७६२ जनाले आवेदन दिएका छन् । यसअघि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयरमा १८ लाख ४२ हजार ४८० ले आवेदन दिएको विवरण थियो । जीवन विकास लघुवित्तको बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार साधारण शेयरमा लगानी गर्नेको रेकर्ड नै बनेको छ । 

धितोपत्र बजार अनलाइन कारोवारका लागि २०७७ असारमा मात्रै ३५ हजारले युजरआइडी लिएकाका हालसम्म त्यो सङ्ख्या बढेर छ लाख ६० हजार बढी पुगेको छ । दैनिक छ लाख बढीले कारोवारमा सक्रियता देखाएका छन् । बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाका अनुसार प्रविधिमा भएको विस्तार तथा लगानी सहजीकरणका लागि भएका प्रयासका कारण धितोपत्र बजारमा लगानीकर्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस