भादगाउँ खानेपानीका चार मुहान पुरीयो, दुई हजार घरधुरी प्रभावित

रासस

शनिबार, १९ असार २०७८, १३ : २५
भादगाउँ खानेपानीका चार मुहान पुरीयो, दुई हजार घरधुरी प्रभावित

तनहुँ । अविरल वर्षाले तनहुँको व्यासनगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको चार खानेपानीका मुहान पुरेपछि खानेपानीको समस्या भएको छ । तीन दिनदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरो गएर पानीको मुहान तथा पाइप बगाउँदा व्यास– १ र १२ का गरी दुई हजार ५०० उपभोक्ता प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । 

धारामा पानी नआएपछि दुई दिनदेखि बोरिङ र खोला छेउमा रहेको कुवाको पानी ल्याएर स्थानीय जीविकोपार्जन गर्न बाध्य भएका छन् । वर्षापछि खानेपानीको सबै मुहान अवरुद्ध भएपछि छाब्दीखोला किनारमा रहेको कुवाबाट पानी बोकेर खानुपर्ने बाध्यता रहेको निर्मलनगर टोल विकास संस्थाका पूर्वअध्यक्ष अम्मर भण्डारीले जानकारी दिए । 

उक्त खानेपानीको कार्यालयदेखि करीब १३ किलोमिटर लामो दूरीमा पर्ने खिरखाँदी मुहानबाट ल्याइएको खानेपानी सोही वडाको बेलबासमा ४५ मिटर जिआई पाइप बगाएपछि खानेपानी अवरुद्ध भएको छ । उक्त मुहानको पानी प्रतिसेकेन्ड नौ लिटर क्षमता रहेको छ । 

व्यास–१ र १३ जोड्ने छाब्दी खोला दोभानको पक्की मोटरेबल पुल बगाएपछि तत्काल मर्मतसम्भार गर्न कठिनाइ भएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए । छाब्दी खोलामा आएको बाढीले पुल बगाएकाले सामान लिएर जान नसकिने हुँदा पुल बनेपछि मात्रै मर्मतसम्भार गर्न सकिने उहाँले बताए । 

त्यसैगरी छाब्दी खोलाको मुहानबाट ल्याइएको पानीको पाइप बगाएर करीब ९०० तल पु¥याएको सो समितिले जनाएको छ । उक्त मुहानको पानी प्रतिसेकेन्ड तीन लिटर क्षमता रहेको छ । 

त्यसैगरी छाब्दी खोला किनारस्थित दुई स्थानबाट पानी पम्पिङ गरिए पनि बाढीले विद्युत्को पोल ढलेका कारण पानी तान्न नसकिएको सो संस्थाले जनाएको छ । उक्त दुई पम्पिङ योजनाबाट प्रतिसेकेन्ड आठ लिटर पानी क्षमता रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस