निजामति सेवाको सचिव पद खाली हुँदै

सफल खबर संवाददाता

शुक्रबार, ०४ असार २०७८, १७ : ५६
निजामति सेवाको सचिव पद खाली हुँदै

काठमाडौं । निजामति सेवाको विशिष्ट पद सचिव पद खाली हुँदै गएको छ । लोकसेवा आयोगमा पदाधिकारी नियुक्त गर्न ढिलाई गर्दा यो अवस्था आएको हो । गएको असार २६ गते पदाधिकारी नियुक्त गरेपनि संसदीय सुनुवाई नहुँदा काम गर्न सकिरहेका छैनन् । 

नेपाल सरकारको विभिन्न निकायमा नेतृत्व दिनुपर्ने सचिव पद खालि छ । आजसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खानेपानी मन्त्रालय, कृषि तथा पशुपंक्षी मन्त्रालयको पशुपंक्षी हेर्ने सचिव, शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको विज्ञान तथा प्रविधि हेर्ने सचिव, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय पुननिर्माण प्राधिकरण गण्डकी प्रदेश र कर्णाली प्रदेशको सचिव पद खाली छ ।

गत असार १ गतेदेखि त उपराष्ट्रपतिको कार्यालय पनि सचिव विहिन भएको छ । उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव गोपिनाथ मैनालीले असार १ गते पदावधीको कारण अवकाश पाउनुभयो । निजामति सेवा ऐनमा सचिव पदको पदावधी ५ वर्ष तोकिएको छ । नेपाल सरकारको विभिन्न निकायमा निजामती सेवाको प्रशासनको ३४, न्याय सेवाको १३, इन्जिनियरिङ तर्फ ८ तथा वन र संघीय संसदमा एक/एक जना रहने गरी ६९जना सचिव पद रहने व्यवस्था छ । यसबाहेक नेपाल सरकारको मुख्यसचि, सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार र संघीय संसदमा महासचिव रहने व्यवस्था छ ।

मन्त्रालय तथा अन्य सरकारी निकायमा नेतृत्व दिनुपर्ने सचिव पद खाली हुँदा कार्यालयको काम र बढुवा हुन योग्य भएका सहसचिवहरुको वृत्तिविकास र पदोन्नतिमा सिधा असर परेको छ । यसरी लामो समय मन्त्रालय र निकायहरु खाली हुँदा ति निकायको काम र प्रभावकारीतामा सिधा असर गर्ने लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीले बताउनुभयो । सचिव पद खाली हुँदा त्यो निकाय काम चलाउमा परिणत हुने अवस्था आउने पूर्व अध्यक्ष मैनालीले बताए । यस्तो अवस्थामा मन्त्री स्वयंले समेत काम गर्न नसक्ने अवस्था आउने अध्यक्ष मैनालीको तर्क छ ।

यता लोकसेवा आयोगमा पदाधिकारी नियुक्त गरिए पनि काम हुन सकेको छैन । गएको बैशाख २६ गते लोकसेवा आयोगमा पदाधिकारी नियुक्त गरिएको थियो । यसरी नियुक्त पदाधिकारीको संसदीय सुनुवाई नहुँदा काम गर्न सकेका छैनन् । कर्मचारीहरुको बढुवा प्रक्रियामा लोकसेवा आयोगका परामर्श चाहिने हुन्छ । तर आयोग नै पदाधिकारी विहिन जस्तो छ । नियुक्त भएका पदाधिकारीको ४५ दिन असार १० गते पुग्दैछ भने नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रीट परेको छ ।

नियुक्त भएको ४५ दिनभित्र संसदीय सुनुवाई नभए स्वत्ः नियुक्त हुने व्यवस्था छ । लोकसेवा आयोगमा पदाधिकारीले काम गर्न नपाउञ्जेल सबै बढुवा प्रक्रिया रोकिनेछ । यस्तो अवस्थामा सरकारले बढुवाको लागि योग्य भएका र अगाडी रहेका मध्येबाट एक जनालाई कायम मुकायम दिएर तत्कालको लागि गाँठो फुकाउन सकिने पूर्व अध्यक्ष मैनालीले सुझाव दिए ।

नेपाल सरकारको विभिन्न निकायको प्रशासनिक नेतृत्व दिने पद खाली हुँदा खाली भएको निकायको मात्र नभएर सरकारको प्रभावकारीतामा समेत असर पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस