बेरोजगार युवालाई विदेश जानबाट रोक्नका लागि कृषिमा क्रान्ति ल्याउनुपर्छ : कृषि मन्त्री साह

सफल खबर संवाददाता

शुक्रबार, ०४ असार २०७८, १६ : २४
बेरोजगार युवालाई विदेश जानबाट रोक्नका लागि कृषिमा क्रान्ति ल्याउनुपर्छ : कृषि मन्त्री साह

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले भुउपयोग नीतिलाई कडाइका साथ लागु गरेर खेतीयोग्य जमिन शहरीकरण हुनबाट रोक्नुपर्ने बताएकी छन् । शुक्रबार कृषि विभाग र नेपाल कृषि महासंघले संयुक्त रुपमा आयोजना गरेको समृद्ध नेपालका लागि कृषिको आधुनिकीकरण विषयक अन्तरक्रियामा बोल्दै कृषि मन्त्री साहले कृषक र कृषिकै हितको निम्ति भुउपयोग नीति ल्याइएको भन्दै यसलाई कडाइका साथ कार्यान्वयन गरेर अघि बढ्नुपर्ने बताएकी हुन् ।

उनले कृषिको सबैथोकमा छिट्टै आत्मनिर्भर हुनुपर्ने पनि बताइन् । भुउपयोग नीति लागु गर्दा खेतियोग्य भुमि शहरीकरण हुन रोकिने बताइन् । मन्त्री साहले किसानलाई सुचिकृत गरी राज्यको तर्फबाट दिइनुपर्ने सेवा सुविधा दिन मन्त्रालय चिन्तित रहेको पनि बताइन् ।

उनले भनिन्, ‘हाम्रो किसानहरुको सुचिकृत कहिलेसम्म गर्ने र कहिलेसम्म व्यवहारत्ः राज्यको तर्फबाट सुविधा पाउनुपर्ने । त्यो कहिलेसम्म मिलाउन सकिने हो । हामी सबै चिन्तित छौँ र मेहनतको साथअघि बढीरहेको अवस्था छ । चुनौती पनि उत्तिकै छ । भुउपयोगको नीति नीतिगत रुपमा लागु भएको छ । भुउपयोग नीति सायद कृषिकै हितमा पनि हुनेछ । आम किसानकै हितमा हुनेछ भन्ने मलाई विश्वास छ । भुउपयोग नीतिलाई कडाइका साथ लागु गरेर जाने हो भने सायद जग्गाहरु खण्डीकरण गरेर शहरीकरण गर्ने काम भइरहेको छ यसलाई रोक्नुपर्छ । यसलाई व्यवहारत्ः कडाइका साथ भुउपयोग नीति सँगसँगै कृषिमा जोड दिन अगाडी बढ्नु जरुरी छ ।’

मन्त्री साहले बेरोजगार युवाहरुलाई विदेश जानबाट रोक्नका लागि कृषिमा क्रान्ति ल्याउनुपर्ने बताइन् । कृषि क्रान्तिको लागि कुनै कसर बाँकी राख्नु नहुने उनले बताइन् । उनले भनिन् ‘लाखौँ युवाहरु जो बेरोजगार भएर बसेर बाध्य भएर बाहिर गएका छन् । त्यसलाई रोक्नको लागि पनि कृषिमा क्रान्ति ल्याउनु जरुरी छ ।’

उनले माटोको परिक्षण गर्नका लागि ‘सोयल हेल्थ कार्ड’ को व्यवस्था गर्नु जरुरी रहेको बताइन् । सोयल हेल्थ कार्डको व्यवस्था गर्न सके कस्तो खालको माटो छ र त्यस अनुसार मलको प्रयोग गर्न सकिने उनको भनाई छ । मन्त्री साहले कृषि मन्त्रालयले दिर्घकालीन योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस