किम जोङद्वारा देशभर खाद्यवस्तुको चरम अभाव रहेको स्वीकार

एजेन्सी

विहीबार, ०३ असार २०७८, १३ : १३
किम जोङद्वारा देशभर खाद्यवस्तुको चरम अभाव रहेको स्वीकार

एजेन्सी । उत्तर कोरियाली राष्ट्रप्रमुख किम जोङ उनले पहिलोपटक आधिकारिक रूपमा देशभर खाद्यवस्तुको चरम अभाव रहेको स्वीकार गरेका छन् ।

वरिष्ठ नेताहरुसँगको बैठकलाई सम्बोधन गर्दै किमले ‘जनताका लागि आवश्यक खाद्य सामग्रीको स्थिति चिन्ताजनक बन्दै गएको’ उल्लेख गरेका हुन् । गत वर्षको आँधी, तुफान र देशव्यापी बाढीका कारण कृषि क्षेत्रले लक्ष्यानुरुप अन्न उत्पादन गर्न नसकेको उनले बताएका थिए ।

रिपोर्टका अनुसार उत्तर कोरियामा यति बेला खाद्यवस्तुको भाउ अत्यधिक उचाइमा पुगेको छ, जहाँ एक किलो केराको मूल्य नै ४५ डलरसम्म अर्थात् नेपाली पाँच हजार रुपैयाँभन्दा धेरै रहेको एनके न्युजले जनाएको छ ।

कोभिड–१९ का कारण उत्तर कोरियाले आफ्ना सबै सिमानाहरु बन्द गरेको छ । यसैकारण चीनसँगको सम्पूर्ण व्यापार अवरुद्ध भएको छ । उत्तर कोरिया खाद्यवस्तु, कृषिजन्य मल, इन्धनलगायतमा चीनमै निर्भर रहँदै आएको छ । त्यसैले पनि दैनिक उपभोग्य वस्तुको अभाव समस्याजनक बन्दै गएको बताइएको छ ।

उता, आणविक गतिविधिका कारण उत्तर कोरियामाथि जारी अन्तर्राष्ट्रिय प्रतिबन्ध यथावत् नै छ ।

राजधानी प्योङयोङमा भएको उक्त बैठकमा किमले अमेरिका र दक्षिण कोरियासँगको सम्बन्धबारे पनि छलफल गर्ने भनिएको थियो । तर, यससम्बन्धी कुनै जानकारी बाहिर आएको छैन ।बीबीसी 

प्रतिक्रिया दिनुहोस