तथ्यांकमा जति घटेको छैन संक्रमण

पत्रपत्रिकाबाट

मंगलबार, ०१ असार २०७८, ०६ : ३८
तथ्यांकमा जति घटेको छैन संक्रमण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा कोरोना संक्रमितको संख्या दैनिक घटिरहेको देखिए पनि वास्तविकता त्यस्तो नरहेको सरोकारवालाले औंल्याएका छन्।

धुलिखेल अस्पतालका जनस्वास्थ्यविद् डा. विराज कर्माचार्यले कोरोना संक्रमण घट्दो क्रममा रहे पनि देखिएजति दरमा नघटेको बताए। ‘समुदायमा संक्रमण दर बढी छ’, उनले भने।

कर्माचार्यका अनुसार अहिले परीक्षण संख्या कम रहेकाले समुदायमा भएभन्दा कम संक्रमणदर देखिएको हो। उनी भन्छन्, ‘अहिले न कन्ट्याक्ट ट्रेसिङ छ न समुदायमा धेरै संख्यामा परीक्षण भएको छ।

यस्तो अवस्थामा घटिसक्यो भन्न मिल्दैन।’ यकिन संक्रमणदर परीक्षणको दायरा बढाएर मात्र थाहा पाउन सकिने उनको सुझाव छ। यसका लागि सरकारले अहिलेको भन्दा तीन गुणा अर्थात् दैनिक करिब ५० हजार नमुनाको परीक्षण गर्नुपर्ने उनले बताए।

एक सातायता संक्रमण दर दैनिक घटिरहेको देखिएको छ। तर कन्ट्याक्ट ट्रेसिङको अभावमा समुदायमा संक्रमणको अवस्था कस्तो छ, यकिन गर्ने अवस्था नभएकाले संक्रमण घटिहालेको भन्न नसकिने विज्ञले औंल्याएका छन्।

गत २४ घण्टामा नेपालमा संक्रमणदर १९.६ प्रतिशत छ। अघिल्लो दिन यो दर १९.४ प्रतिशत थियो। संक्रमणदर एक सातायता २५ बाट क्रमशः झर्दै १९ मा आइपुगेको हो।

गत २४ घण्टामा परीक्षण भएका १४ हजार ८ सय १९ नमुनामध्ये २ हजार ९ सय १८ जनामा कोरोना पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनका अनुसार उपत्यकामा लक्षण भएका बिरामीको चाप घट्दै गएकाले कोरोना घट्ने क्रममै छ। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस