चुरे दोहनले हिंसा बढायो, पेस्तोल देखाएर खोला उत्खनन्

पत्रपत्रिकाबाट

सोमबार, २४ जेठ २०७८, ०८ : ०९
चुरे दोहनले हिंसा बढायो, पेस्तोल देखाएर खोला उत्खनन्

बर्दिबास । ‘क्रसरवालाले तेरो छोरोलाई टिपरले खोलामा पिचिदियो,’ सुतिरहेकी चन्द्रकला देवी महतोलाई ओछ्यानमै पुगेर कसैले सुनायो। २५ पौस २०७६ को झिसमिसे बिहानीमा उनी आँखा मिच्दैं घर अघिको खोलामा दौडिन्। औरही खोलाको लिकमा उनको छोरो दिलीपको शव थियो, प्राण उडेर विलय भइसकेको थियो। चुरेको भावर क्षेत्रमा पर्ने खोलाको दोहन रोक्न दिलीप र उनका साथी गएका थिए।

राति खाना खुवाएर सुताएको २५ वर्षीय छोरो दिलीप महतोको शव चन्द्राकलाले देखेपछि उनी छाँगाबाट खसिन्। नौं महिना कोखमा राखेर जन्म दिएको दियो झैं समाजलाई उज्यालो दिएका छोरोको मृत्युको खबरेले बेहोस् भइन्। ओछ्यानमा तातो पानी पुर्‍याएर सुत्न गएकी चन्द्रकलाका छोरा राति खोलामा भइरहेको उत्खनन रोक्न गएका थिए। उनका साथी भागेर ज्यान जोगाए। तर, दिलीप त्यही मारिए। छिमेकीले एका बिहानै छोरो मारिएको खबर चन्द्रकलाको कानमा अझैं गुञ्जिन्छ। 

आशाको दियो निभ्यो
१७ महिना अघिको धनुषाको मिथिला नगरपालिका(५ श्रीपुरमा भएको यो घटनाले चुरे दोहनले प्राकृतिक श्रोत मात्रै दोहन भइरहेको छैन त्योसँगै समाजमा अपराध मौलाएको देखाउँछ। ‘दिलीपको आँटिलो र जोशिलो स्वभाव देखेर साह्रै खुसी हुन्थेँ,’ चन्द्रकला भन्छिन्,‘ बाबु राम्रो गर, सबैलाई कल्याण गर, रगत सबैको एकैनाश हो। कोही फरक हुँदैनन्। सहायता गर, सबैलाई सहयोग गर।’ घुसपेटको दुनियाँबाट बचेर अघि बढन् उनकी आमाले सुझाउथेँ,‘ मेरो कुराले ऊ सधैं प्रेरित हुन्थ्यो।’

थोरै लगानीमा धेरै कमाई हुने भएपछि राजनीति संरक्षणमा क्रसरवाला ठेक्केदार चुरिया पहाड र भावर क्षेत्रको अत्याधिक दोहन गरिरहेका छन्। मासुरक्सी खुवाएर पेस्तोल, खुकुरी देखाउँदै, खोलाको दिउँसो दोहन भइरहेको छ। चुरे दोहनविरुद्ध अवाज उठाउने कतिपयको जीवन सूर्य अस्ताए जस्तै भएको छ।  चुरिया पहाड र भावर क्षेत्र क्रसर संचालकका लागि कमाउने ‘सेतो हात्ती’ उर्र्बर थलो र  राजनीतिक तथा प्रशासनिक संरक्षण दिनेका लागि सधैं दुध दिने ‘लैनो भैंसी’ झैं छ। जनप्रतिनिधि र प्रहरी प्रशासनलाई मिलाउन सकिएयो भने दोहन गर्नेको मुठ्ठीमा कानुन पुग्छ। 

पेस्तोल देखाएर खोला उत्खनन्
खोलाको अवैध उत्खनन रोक्न गएका धनुषाका दिलीपको क्रसर डनले हत्या गरेपछि चुरेका नदी–खोला गर्ने डनको प्रवृत्तिलाई झन उदाँगो बनाइदियो। त्यसअघि बटेश्वर गाउँपालिका–१ का मनोजकुमार कुश्वाहा पेस्तोलसहित पक्राउ परे। उनले त्यो पेस्तोल देखाएर गाउँलाई धम्क्याउँदै बडहरी खोलामा बालुवा, गिट्टी उत्खनन् गर्दै आएको अर्को तथ्यलाई बाहिर ल्यायो। अवैध उत्खनन्विरुद्ध बोल्दा मारिदिने धम्की दिँदै आएका उनलाई २५ जेठ ०७६ मा खोला बाटै उनलाई प्रहरीले स्वचालित पेस्तोलसहित पक्रियो।

हतियार लिएरै नदी उत्खनन गर्ने मनोजको न कुनै क्रसर उद्योग छ न त उनी ठेकेदार नै हुन्।  उनी नदी खन्ने ठेकेदारको बाउन्सको काम गर्थे। हतियारसहित पक्राउ पर्नुअघि उनी डकैतीमा पनि मुछिएको प्रहरीले जनाएको छ।

सञ्चारकर्मीसहित कमैले चुरिया संरक्षण र यसको विषयमा बोल्ने, लेख्ने र बहस गर्ने हिम्मत राख्ने गरेको महोत्तरीको बर्दिबासका कांग्रेस नेता महेश झा बताउँछन्। ‘तस्करविरुद्ध बोल्नेको जुनसुकै बेला ज्यानको खतरा छ। कतिखेर चुरे माफियाले कहाँ, कसबाट के रु गराइदिन्छ त्यसको ठेगान छैन,’ उनले भने।अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस