‘मन्त्रिपरिषद पुनर्गठन राष्ट्रघाति, जनघाति, लोकतन्त्र र पार्टीको नीति, सिद्धान्त विपरीत’ : नेता भिम रावल

सफल खबर संवाददाता

शनिबार, २२ जेठ २०७८, १० : ४०
‘मन्त्रिपरिषद पुनर्गठन राष्ट्रघाति, जनघाति, लोकतन्त्र र पार्टीको नीति, सिद्धान्त विपरीत’ : नेता भिम रावल

काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्नु लोकतन्त्र र संविधानविपरीत रहेको उल्लेख गरेका छन् । 

शनिबार सामाजिक सञ्जाल ट्वीटर मार्फत आफ्ना धारणा राख्दै उनले ओलीको संवैधानिक र लोकतान्त्रिक मान्यता एवं राष्ट्रहितविरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र र कार्य जेठ २१ को मन्त्रिपरिषदको हेरफेरमा अझ छताछुल्ल भएको बताएका छन्।

प्रधानमन्त्री ओलीले शुक्रबार हिजो मात्रै जनता समाजवादी पार्टीका केही नेतालाई सम्मिलत गरेर मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।  ओलीको निर्णय गत आमनिर्वाचनमा जनताले दिएको जनादेशविपरीत रहेको उल्लेख गर्दैै उनले दुई पटक स‌ंविधानसभाको निर्वाचन भई जनाताले ठूलो मूल्य चुकाएर जारी भएको संविधान संशोधन गर्न भनी कथित कार्यदल गठन गर्नु राष्ट्रघात र जनघात भएको बताएका छन् । उनले यसमा रहेका लोकतन्त्रघातीहरुको नाम सार्वजनिक होस् भन्ने माग गरेका छन् ।

नेता रावलले केही दिन अघि पनि आफुले ट्वीट गर्दैै ओलीलाई ५ मन्त्रालय आफुसंग राखि अन्य मन्त्रालय महन्थ पक्षलाई दिई धुपवत्ती गर्न भन्दै व्यगांत्मक टिप्पणी गरेको पनि उल्लेख गरेका छन् । ‘ओलीका यसप्रकारका राष्ट्रघाति, जनघाति, लोकतन्त्र र पार्टीको नीति, सिद्धान्त र विधानविपरीतका क्रियाकलापबाट देश, जनता र लोकतन्त्र जोगाउन हामी आवश्यक दृढ पाइला चाल्नैपर्ने स्थितीमा पुगेका छौं।’, रावलले भनेका छन्।

प्रतिक्रिया दिनुहोस