कोरोना महामारी : भेरी बबई आयोजना प्रभावित

रासस

विहीबार, २० जेठ २०७८, १५ : ४९
कोरोना महामारी : भेरी बबई आयोजना प्रभावित

कर्णाली । कोरोना महामारी रोकथामका लागि जारी निषेधाज्ञाका कारण राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम प्रभावित भएको छ । सीमित मजदुर र निर्माण सामग्रीको अभावले गर्दा दोस्रो चरणको निर्माणकार्य प्रभावित हुन पुगेको आयोजनाले जनाएको छ ।

आयोजनाका प्रवक्ता एवं सिनियर डिभिजनल इञ्जीनियर सिडिई ईश्वरीप्रसाद तिवारीले निषेधाज्ञाकै बीच बाँध र विद्युत्गृहको निर्माणकार्य सञ्चालन भए पनि मजदुर र सामग्रीको अभाव रहेको बताए ।“राष्ट्रिय गौरवको आयोजनाको काम नरोक्ने सरकारको नीतिअनुसार जनस्वास्थ्यका सबै मापदण्ड पालना गरेर हेडवक्र्स बाँध र पावरहाउस विद्युत्गृह जस्ता संरचनाको काम रोकिएको छैन”, उनले भने, “ठेकेदारले निर्माण सामग्री र मजदुरको अभाव देखाइरहेका छन्, हामीले काम नरोकिने गरी सामग्री व्यवस्थापन गर्न आवश्यक पहल गरिरहेका छौँ ।”

कोरोना महामारी फैलिएपछि झण्डै १०० मजदुर कार्यरत थिए । हाल मजदुरको सङ्ख्या घटेर ६० मा सीमित रहेको बताइएको छ । सिडिई तिवारीले आयोजना आसपासमा पर्ने जहरे, रामघाटलगायतका स्थानमा कोरोना सङ्क्रमण फैलिएपछि मजदुर काममा आउन छाडेको बताए। लामो समयदेखिको निषेधाज्ञाका कारण बजारमा सिमेन्ट, रड सरियाको अभाव छ । निर्माण सामग्री उत्पादक कम्पनी बन्द हुनु र बजारमा मोटो तथा गुणस्तरीय सरियाको अभाव रहेकाले आयोजनाको काम प्रभावित हुने समस्या देखिएको छ ।

पहिलो चरणको सुरुङ टनेल निर्माणपछि आयोजनाले दोस्रो चरणको काम अघि बढाएको हो । सम्झौताअनुसार आर्थिक वर्ष २०७९÷८० मा दोस्रो चरणअन्तर्गतका बाँध, विद्युत्गृहलगायतका संरचनाको निर्माण सम्पन्न गरिसक्नुपर्छ । चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच विसं २०७६ साउनमा दोस्रो चरणको सिभिल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । आयोजनाका अनुसार हालसम्म करिब ४५ प्रतिशत काम सम्पन्न भएको छ । पहिलो चरणमा सुरुङ निर्माण तोकिएको अवधिभन्दा एक वर्षअघि नै सम्पन्न गरेर आयोजनाले प्रशंसा बटुलेको थियो ।

प्रतिक्रिया दिनुहोस