इजरायलको राष्ट्रपतिमा आइज्याक हर्जोग निर्वाचित

एजेन्सी

विहीबार, २० जेठ २०७८, १४ : १९
इजरायलको राष्ट्रपतिमा आइज्याक हर्जोग निर्वाचित

जेरुसेल ।  इजरायलको राष्ट्रपतिमा वरिष्ट राजनीतिज्ञ आइज्याक हर्जोग निर्वाचित भएका छन् । देशको एघारौं राष्ट्रपतिका रुपमा निर्वाचित हर्जोगले १२० सदस्यीय इजरायली संसदबाट ८७ मत प्राप्त गरेका थिए । इजरायलमा हाल रुभेन रिभलिन राष्ट्रपति छन् । उनको कार्यकाल अर्को महिना समाप्त हुँदैछ । 

आलङ्कारिक मानिने इजरायलको राष्ट्रपतिको कार्यकाल सात वर्षको हुन्छ । हर्जोगले राष्ट्रपतिका अर्का उम्मेदवार मेरियम पेरेजलाई पराजित गरेका थिए ।

चुनावी नतिजा सार्वजनिक भएलगत्तै नवनिर्वाचित राष्ट्रपति हर्जोगले आफू सबै जनताको राष्ट्रपति हुने विश्वास व्यक्त गरे। साठी वर्षीय हर्जोगले भने “हामीले इजरायलको अन्तर्राष्ट्रिय छविलाई सुदृढ गर्नु पर्नेछ र इजरायल विरोधी भावनालाई हटाउन प्रयत्न गर्नु पर्नेछ । साथै हाम्रो लोकतन्त्रको स्तम्भलाई संरक्षण गर्नु पर्दछ ।”

हर्जोग यसअघि लाबोर पार्टीको पूर्व प्रमुख रहनुका साथै सन् २०१५ मा संसदमा विपक्षी दलको नेता थिए । उनी  सन् २०१५ का चुनावमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको विरुद्धमा चुनावी मैदानमा उत्र्रिएका थिए । 

हर्जोग इजरायलको प्रभावशाली जियोनिस्ट परिवारका सदस्य छन् । उनका बुबा चाइम हर्जोग पनि इजरायलको राष्ट्रपति र संयुक्तराष्ट्रसंघका लागि इजरायली राजदूत थिए । उनका काका अब्बा एबान पनि इजरायलको पहिलो विदेश मन्त्री रहेका थिए  । (रासस–एपी )

प्रतिक्रिया दिनुहोस