इजरायलमा विपक्षी गठबन्धनबीच नयाँ सरकार बनाउने सहमति

एजेन्सी

विहीबार, २० जेठ २०७८, १२ : १८
इजरायलमा विपक्षी गठबन्धनबीच नयाँ सरकार बनाउने सहमति

काठमाडौँ । इजरायलमा विपक्षी गठबन्धनबीच नयाँ सरकार बनाउने विषयमा सहमति जुटेको छ । वर्तमान प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको विपक्षीमा रहेका ८ वटा पार्टीबीच नयाँ सरकार बनाउने विषयमा सहमति जुटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सहमतिअनुसार दक्षिणपन्थी यामिना पार्टीका नेता नेफ्टाली बेनेट र येश यटिड पार्टीका नेता येर लेपिडले आलोपालो सरकारको नेतृत्व गर्नेछन् । बेनेट सन् २०२३ सम्म प्रधानमन्त्री बन्नेछन् भने मध्यमार्गी येश एटिड पार्टीका नेता लेपिड सन् २०२३ को अगस्टदेखि सरकारको नेतृत्वमा हुनेछन् ।

गत मार्चमा भएको चुनावमा इजरायलमा नेतान्याहुको लिकुड पार्टीसहित कुनै पनि दलले बहुमत प्राप्त गर्न सकेका थिएनन् । कसैलाई बहुमत प्राप्त नभएपछि लिकुड पार्टीलाई जुन २ सम्म बहमुत सावित गर्न आह्वान भएको थियो । तर नेतान्याहुले उक्त समयसीमाभित्र बहुमत जुटाउन सकेनन् । इजरायलमा कुनै पनि पार्टीले बहुमत प्राप्त नगरेका कारण गत दुई वर्षमा चार पटक चुनाव भइसकेको छ ।

१२० सिट रहेको इजरायली संसद्मा सरकार गठनका लागि ६१ सिट आवश्यक पर्छ । यदि यस पटक पनि कसैले बहुमत प्राप्त नगरेको भए इजरायलमा दुई वर्षमा ५औं पटक आम चुनाव हुन्थ्यो ।राष्ट्रपति रुवेन रिवलिनले तत्काल संसद्को अधिवेशन बोलाएर विश्वासको मत लिने काम अघि बढाउन संसद्लाई आग्रह गरेका छन् ।

इजरायलको नयाँ गठबन्धनमा वैचारिक हिसाबले विपरीत प्रकारका पार्टी सामेल छन् । तर उनीहरुले नेतान्याहुको शासन अन्त्य गर्नका लागि एक ठाउँमा उभिएको बताएका छन् । नयाँ गठबन्धनमा दक्षिणपन्थी, वामपन्थी र मध्यमार्गी धारका पार्टी समावेश छन् ।

प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले भने गठबन्धन सरकार बनाउने प्रयासलाई ‘शताब्दीकै सबैभन्दा ठूलो छल’ भनेका छन् । नयाँ सरकार बनेमा इजरायलको सुरक्षा र भविष्य नै खतरामा पर्ने उनको भनाइ छन् । ७१ वर्षीय नेतान्याहु इजरायलमा सबैभन्दा लामो समय सत्तामा रहने नेता हुन् । पछिल्लो एक दशकदेखि इजरायली राजनीतिमा उनकै मात्र दबदबा थियो । तर उनीमाथि भ्रष्टाचार र चुनावमा धाँधली गरेको आरोप भने लाग्दै आएको छ ।

निसेटमा नेतान्याहुको लिकुड पार्टीको ३० सिट रहेको छ भने दोस्रो ठूलो पार्टी येश एटिडको १७ सिट रहेको छ । विश्वासको मत लिँदासम्म सबै दल एकजुट भए उनीहरुको पंक्षमा बहुमत ६२ सांसद हुनेछन् ।

प्रतिक्रिया दिनुहोस