भारतीय जनता पार्टीका नेता पण्डिताको गोली हानी हत्या

एजेन्सी

विहीबार, २० जेठ २०७८, ११ : ४४
भारतीय जनता पार्टीका नेता पण्डिताको गोली हानी हत्या

भारत । भारतीय जनता पार्टीका एक पार्षदको जम्मू–कश्मीरमा गोली हानी हत्या गरिएको छ। भाजपाका पार्षद राकेश पण्डितामाथि चरमपन्थीले बुधबार राति गोली हानी हत्या गरेका हुन्। 

समाचार एजेन्सी पीटीआईले प्रहरी प्रवक्तालाई उदृत गर्दै दिएको जानकारी अनुसार बुधबार राति जम्मू र कश्मीरका बीजेपी काउन्सिलर पण्डितामाथि पुलवामाको त्राल क्षेत्रमा साथीहरुसँग भेटका लागि पुगेको समयमा गोली प्रहार भएको हो।

रातको करिब सवा १० बजे तीन अज्ञात बन्दूकधारीले उनीमाथि गोली चलाएका थिए। गोली लागेर घाइते उनलाई अस्पताल लैजादै गर्दा बाटोमा नै ज्यान गएको हो। 
गोली लागेर उनका एक जना साथीका छोरा घाइते भएका छन् र उनको उपचार भइरहेको छ। 

प्रहरीका अनुसार उनको सुरक्षाका लागि प्रहरी पनि खटाइएको थियो। पण्डिताको सुरक्षाका लागि दुई सुरक्षा अधिकारी उपलव्ध गराएको भएपनि घटना भएको समयमा उनले सुरक्षा प्रक्रियालाई उल्लंघन गरेका थिए। उनको सुरक्षाका लागि खटाइएका प्रहरी आफ्नो गाउँ गएका थिए। प्रहरीले सुरक्षामा खटाइएका अधिकारीका विषयमा पनि जाँच थालेको जनाएको छ। 

विगत एक वर्षमा जम्मू–कश्मीरमा पाँच बीजेपी नेताहरुको हत्या भएको छ। 

प्रतिक्रिया दिनुहोस