भारतमा परीक्षण नै नगरी विदेशी खोप प्रयोगको अनुमति

एजेन्सी

मंगलबार, १८ जेठ २०७८, १६ : ११
भारतमा परीक्षण नै नगरी विदेशी खोप प्रयोगको अनुमति

काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड१९) विरुद्धको केही विदेशी खोपलाई स्थानीयरुपमा परीक्षण अनिवार्य नहुने नियम ल्याएको छ । यससँगै अब फाइजर र मोडेर्नाजस्ता कम्पनीको खोप भारत ल्याउने बाटो खुला भएको छ ।

भारतमा देखिएको कोरोना संक्रमणको दोस्रो लहरसँगै भारतभर खोप कार्यक्रमलाई पनि तीव्र गतिमा बढाउन दबाब बढिरहेको अवस्थामा त्यहाँको सरकारले यस्तो निर्णय गरेको हो । भारत सरकारलेसार्वजनिक गरेको विज्ञप्तिमा कोरोना खोप अभियानलाई गति दिन विश्वको सबैभन्दा राम्रो खोपको प्रयोग गरिने उल्लेख छ ।

विश्वको दोस्रो ठूलो जनसंख्या भएको भारतमा अहिलेसम्म करिब ३ प्रतिशत जनसंख्याले मात्र पूरा डोज कोरोना खोप लगाएका छन् । यो संख्या विश्वका सबैभन्दा धेरै कोरोना संक्रमण फैलिएका १० मुलुकमा सबैभन्दा कम हो । यसअघि सरकारले कुनै पनि विदेशी खोपको परीक्षण स्थानीयरुपमा नभएसम्म त्यसलाई मान्यता दिन नसकिने बताएको थियो ।

किन हट्यो भारत आफ्नो निर्णयबाट पछि ?

भारतमा कोरोना खोप अभियान सुरु हुँदै गर्दा प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना खोप स्थानीयरुपमा विकास गर्दै ‘आत्मनिर्भर भारत’ कार्यक्रमलाई अघि बढाउने बताएका थिए । त्यतिमात्र होइन, विश्वलाई नै भारतले खोप दिने उद्घोष पनि गरेका थिए । सो क्रममा भारतले करिब ६ करोड डोज कोरोना खोप अनुदान वा बिक्रीमार्फत निर्यात पनि गरेको थियो । तर, अहिले भने अवस्था फेरिएको छ ।

भारतमा कोरोनाको दोस्रो लहर फैलिएसँगै भारतका विभिन्न राज्यमा खोप अभावको समाचार आएको थियो । साथै मागअनुसारको आपूर्ति गर्न नसकेको कारण सबैभन्दा ठूलो खोप उत्पादक सेरम इन्स्टिच्युटका सीईओ अदार पूनावालाले आफूलाई धम्की आइरहेको एक अन्तर्वार्तामा बताएका थिए ।

खोपकै विषयलाई लिएर भारतमा सरकारको पनि आलोचना भइरहेको छ । आलोचनाका बीच भारतका वातावरणमन्त्री प्रकाश जावडेकरले शुक्रबार डिसेम्बरसम्म खोप अभियान पूरा हुने बताएका छन् ।

उनले सो अवधिसम्ममा भारतले २ अर्ब १६ करोड डोज कोरोना खोप मानिसहरुलाई लगाउने बताएका हुन् । यद्यपि भारतमा स्थानीयरुपमा उत्पादन भइरहेका खोपको माध्यमबाट उक्त लक्ष्य पूरा हुने सम्भावना छैन । त्यसैले भारतले अन्ततः विदेशी खोपलाई स्थानीयरुपमा परीक्षण नगरीकन नै अनुमति दिने निर्णय गरेको हो ।

भारतले गर्ला त निर्यात ?

विदेशी खोपलाई भारतमा अनुमति दिएसँगै भारतले स्थानीय खोपलाई निर्यातको लागि अनुमति दिन सक्ने आशा पनि देखिएको छ ।

यद्यपि महत्वाकांक्षी लक्ष्य र चुनौतीपूर्ण बनेको कोरोना संक्रमण नियन्त्रणका लागि भारतले छिटै नै निर्यातलाई अनुमति दिने सम्भावना कम रहेको जानकारहरुले बताएका छन् । भारतको सेरम इन्ष्टिच्युट अफ इन्डियाले हालै मात्र यस वर्षको अन्तिमबाट मात्र कोरोना खोप निर्यात हुन सक्ने बताएको छ ।

अहिले भारतमा अनुमति पाएको फाइजरले जुलाइदेखि अक्टोबरसम्ममा पाँच करोड दिने अपेक्षा गरिएको छ । मोडेर्नाले भने आगामी वर्षसम्ममा आफ्नो खोप भारतलाई दिन सक्ने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । त्यसैले भारतमा कम्तीमा एक महिनाअघि अहिले देखिएको कोरोना खोपको अभाव तथा माग कम हुने अवस्था देखिँदैन ।