चितवनमा एकैदिन १४ जना संक्रमितको मृत्यु, २१५ जना आइसियूमा

सफल खबर संवाददाता

बुधबार, १२ जेठ २०७८, १६ : १६
चितवनमा एकैदिन १४ जना संक्रमितको मृत्यु, २१५ जना आइसियूमा

चितवन । चितवन जिल्लामा पछिल्लो २४ घन्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनका विभिन्न अस्पतालमा २१५ जनाको आइसियू कक्षमा उपचार भइरहेको छ । ६० जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

पछिल्लो २४ घन्टामा भरतपुर अस्पतालमा ३, चितवन मेडिकल कलेजमा ५ र पुरानो मेडिकल कलेजमा ३  जना, भरतपर क्यान्सर अस्पतालमा २ जना र अन्य अस्पतालमा १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घन्टामा चितवनका विभिन्नअस्पतालहरुबाट ५० जना डिस्चार्ज भएका छन् । चितवनका विभिन्न अस्पतालहरुमा ४२३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा चितवनमा थप २०६ जनालाई कोरोना संक्रमण देखिएको छ। भरतपुर महानगरपालिकामा १४४, खैरहनी नगरपालिकामा ३, माडीमा १३, रत्ननगरमा २०, राप्तीमा ९, कालिकामा १५ र इच्छाकामनामा २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 

चितवनमा सङ्क्रमित २०६ जनाको मृत्यु 

चितवन जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २०० नाघेको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका हुन् । स्वास्थ्य कार्यालय चितवनका तथ्याङ्क अधिकृत गीताञ्जली ढकालका अनुसार हालसम्म जिल्लामा २०६ जनाको मृत्यु भएको छ । तीमध्ये भरतपुर महानगरपालिका १३१ को मृत्यु भएको हो ।

यस्तै खैरहनी नगरपालिकाका ११, माडी नगरपालिकाका सात, रत्ननगर नगरपालिकाका २४, राप्ती नगरपालिकाका १८, कालिका नगरपालिकाका १३ र इच्छाकामना गाउँपालिकाका दुई जनाको कोरोनाका कारण मृत्यु भएको हो । जिल्लाका विभिन्न अस्पताल र होमआइसोलेशनमा उनीहरुको मृत्यु भएको हो ।

जिल्लाका अस्पतालहरुमा बाहिरी जिल्लाबाट उपचार गर्न आउने सङ्क्रमितको सङ्ख्यामा पनि ठूलो रहेकको छ । उपचारका लागि बाहिरी जिल्लाबाट आएकाहरुमा २६४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । जिल्ला र बाहिरी जिल्लाका मृतकमध्ये ३२८ जनाको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ ।

व्यवस्थापन गरिएका शव परिवारको सल्लाहमा पारिवारिक संस्कारअनुसार जलाउने वा गाड्ने गरिएको छ । मृतकमध्ये १३३ जनाको शव भने परिवारले नै व्यवस्थापन गरेका छन् । जिल्लामा हालसम्म १२ हजार ९७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । तीमध्ये चार हजार ८३४ सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये चार हजार ६५८ होमआइसोलेशनमा उपचाररत रहेका छन् भने १६२ अस्पतालमा र १४ जना सामुदायिक आइसोलेशनमा रहेको ढकालले जानकारी दिए । उनका अनुसार सात हजार ९३५ जनाले कोरोना सङ्क्रमण जितेका छन् ।

प्रतिक्रिया दिनुहोस