एसियन कप क्वालिफायरको लागि नेपाली फुटबल टोली कतार प्रस्थान

सफल खबर संवाददाता

बुधबार, १२ जेठ २०७८, १२ : ०४
एसियन कप क्वालिफायरको लागि नेपाली फुटबल टोली कतार प्रस्थान

काठमाडौं । इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप क्वालिफायर र एसियन कप क्वालिफायरको लागि नेपाली फुटबल टोली कतार प्रस्थान गरेको छ ।

२३ खेलाडी र १२ अफिसियलसहित ३५ जनाको टोली गएराति १० बजे कतार एअरवेजको विशेष उडानमार्फत प्रस्थान गरेको हो ।नेपाली टोली मंगलबार कतारको दोहा पुग्ने र बुधबार त्यहाँबाट इराक प्रस्थान गर्ने एन्फाले जनाएको छ ।

नेपाली टोली यस पटक सुटेड बुटेड भएर गएका छन् । यसअघि अखिल नेपाल फुटबल संघले टोलीलाई ट्रयाकसुट लगाएर पठाउने गरेको थियो । धेरै समयपछि खेलाडीहरुले कोट लगाएर गएका हुन् ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर टोलीलाई बिदाई गरेको थियो । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव रमेश कुमार सिलवाल पनि टोलीसँगै गएका छन् ।

नेपालले यही जेठ १५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ र विश्वकप छनोटका तीन खेल खेल्न कुवेत जानेछ । जहाँ नेपालले जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ ।समूह ‘बी’ मा रहेको नेपाले यसअघि ५ खल खेल्दा १ जितबाट ३ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस