बाँकेमा जारी निषेधाज्ञा एक हप्ता थप

सफल खबर संवाददाता

सोमबार, ०३ जेठ २०७८, १२ : ५७
बाँकेमा जारी निषेधाज्ञा एक हप्ता थप

नेपालगञ्ज । बाँकेमा जारी निषेधाज्ञा एक हप्ता थपिएको छ। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले निषेधाज्ञालाई जेठ १० गते राती १२ बजेसम्म निरन्तरता दिइएको जानकारी दिए।

उनले कोभिड–१९ को संक्रमण दरमा कमी नआई परिस्थिति असहज बन्दै गइरहेको स्थितिमा संक्रमण रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन निषेधाज्ञालाई निरन्तरता दिइएको बताए।

बाँकेमा वैशाख १३ गते रातीदेखि २० गतेसम्म निषेधाज्ञा लगाइएको थियो। त्यसलाई बढाएर २७ गते, हुँदै जेठ ३ गतेसम्म पुर्‍याइएको थियो। प्रमुख जिल्ला अधिकारी गेलालले चौथो पटक सूचना जारी गरेर निषेधाज्ञालाई जेठ १० गते रातीसम्म पुर्‍याएका हुन्।

त्यसअघि वैशाख ९ गते रातीदेखि नेपालगञ्ज एरियामा मात्रै निषेधाज्ञा लगाइएको थियो। बाँकेमा अझै कोरोना महमारी नियन्त्रणमा आइसकेको छैन। दैनिक मृत्यु हुनेको संख्यामा कमि देखिँदैन। यद्यपि, केही दिनको तथ्यांकले बाँकेको भन्दा बाहिरी जिल्लाबाट उपचारका लागि यहाँ आएको संख्या बढी देखिन्छ।

यसैबीच बिहान एक घण्टाको बीचमा तीन जना संक्रमितको मृत्यु भएको छ। दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १ का ४८ वर्षीया महिलाको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ।

वैशाख २३ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो। उनको बिहान ९.१५ बजे मृत्यु भएको छ। खजुरा गाउँपालिका वडा नं. ३ का ६७ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ।

वैशाख २१ गते पीसीआर गरिएका उनलाई २७ गते भर्ना गरिएको थियो। उनको बिहान ९.४५ बजे मृत्यु भएको छ। कैलाली कैलारी गाउँपालिका वडा नं. ५ का ३८ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ।

वैशाख २३ गते सेती अस्पतालमा पीसीआर गरिएका उनलाई २७ गते भेरीमा भर्ना गरिएको थियो। उनको बिहान १०.१५ बजे मृत्यु भएको छ। योसँगै बाँकेमा कोरोनाबाट एक सय ४० र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा एक सय ९१ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस