कोरोना कहर : नेपालमा पनि देखिन थाल्यो अक्सिजन अभाव

पत्रपत्रिकाबाट

विहीबार, २३ बैशाख २०७८, ०७ : ५६
कोरोना कहर : नेपालमा पनि देखिन थाल्यो अक्सिजन अभाव

बुटवल । कोरोना संक्रमितको चाप बढेसँगै बुटवलस्थित कोरोना विशेष अस्पतालमा बिरामीहरूलाई अक्सिजन पुर्‍याउनै मुस्किल हुन थालेको छ । अब केही घण्टाका लागि मात्र अक्सिजन मौज्दात रहेको र तत्काल थप अक्सिजन आइनपुगे उपचार प्रभावित हुने अस्पतालले जनाएको छ । 

कोरोना विशेष अस्पताल सञ्चालन गरिरहेको लुम्बिनी प्रादेशिक अस्पतालमा पहिले १ सय ५० सिलिन्डर लगिँदै आएकोमा अहिले माग बढेर ५ सय सिलिन्डर पुगेपछि सप्लार्यसले आपूर्ति गर्न नसकेको अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले बताए । ‘बुधबार साँझ ६० वटा मात्रै सिलिन्डर झर्‍यो,’ उनले बिहीबार बिहान भने, ‘अहिले १० वटा मात्र बाँकी छ ।’ उक्त अक्सिजन १ देखि २ घण्टालाई मात्र पुग्ने उनले जनाए ।

अस्पतालले भेन्टिलेटर, आईसीयू, अक्सिजन बेड गरी ५४ र इमर्जेन्सी बेड तथा भुइँमासमेत गरी थप ५२ बिरामीलाई अक्सिजनको सहायताले उपचार गरिरहेको छ । अक्सिजन अभावबारे रुपन्देहीका प्रमुख जिल्ला अधिकारी र लुम्बिनी प्रदेशका स्वास्थ तथा जनसंख्या मन्त्रीलाई समेत जानकारी गराइएको गौतमले बताए ।

त्यस्तै, रूपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल ९यूसीएमएस०ले दैनिक ८ सय अक्सिजन सिलिन्डर आपूर्तिका लागि सहयोग गरिदिन अपिल गरेको छ । अस्पतालले तयारी अवस्थामा राखेको थप ६० बेडको एचडीयूसमेत अक्सिजन नभएकै कारण सञ्चालन गर्न असमर्थ भएको जनाउँदै सहयोगका लागि सरकार र सरोकारवालाहरूसमक्ष बुधबार विज्ञप्तिमार्फत आग्रह गरेको हो ।

सहज आपूर्ति हुन नसके सञ्चालनमा रहेका बेडसमेत कटौती गर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने यूसीएमएसका जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस