संक्रमण रोक्न स्थानिय प्रशासनद्धारा धमाधम निषेधाज्ञा जारी

पत्रपत्रिकाबाट

बुधबार, १५ बैशाख २०७८, ०८ : ०६
संक्रमण रोक्न स्थानिय प्रशासनद्धारा धमाधम निषेधाज्ञा जारी

काठमाडौं । कोरोना भाइरस संक्रमणको दोस्रो लहरबाट अति प्रभावित जिल्लाहरूमा स्थानीय प्रशासनले धमाधम निषेधाज्ञा जारी गर्न थालेका छन् । बाँके, सुर्खेत, कास्की, पर्सा, दाङ, कैलाली, कञ्चनपुरलगायत जिल्लामा निषेधाज्ञा घोषणा गरिएको हो। यस्तै, काठमाडौं, ललितपुर र भक्तपुरमा वैशाख १६ गतेदेखि लागू हुने गरी निषेधाज्ञाको निर्णय भएको छ।   

पर्सामा बिहीबारदेखि एक साता निषेधाज्ञा लगाइने भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको मंगलबार अपराह्न बसेको बैठकको सिफारिसबमोजिम जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। वैशाख १६ गते बिहीबार बिहान ४ बजेदेखि २२ गते मध्यरात १२ बजेसम्म लागू हुने गरी जिल्लामा निषेधाज्ञा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताए। 

लुम्बिनी प्रदेशका उच्च संक्रमण देखिएका तीन जिल्लामा निषेधाज्ञा लगाइने भएको छ। बाँकेमा कोरोना संक्रमण बढेपछि मंगलबार बिहानदेखि निषेधाज्ञा जारी गरिएको छ। नेपालगन्जमा भने ९ वैशाखदेखि नै निषेधाज्ञा जारी थियो।  जिल्लाभरि नै निषेधाज्ञा गरेपछि मंगलबार नेपालगन्जमा संयुक्त सुरक्षाफौजले कडा जाँच गरेको छ। धम्बोझी चोकमा बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र ट्राफिक प्रहरीले कडा जाँच गरेका थिए।त्यसैगरी त्रिभुवन चोकमा पनि सशस्त्र प्रहरीको नेतृत्वमा सुरक्षाकर्र्मीले कडा चेकजाँच गरेका थिए।

नगरका सबै चोकमा सुरक्षाकर्मी तैनाथ गरिएका थिए। दाङमा वैशाख १७ देखि २५ गतेसम्म लकडाउन घोषणा गरिएको छ। यो अवधिमा अत्यावश्यकबाहेक अन्य क्षेत्र बन्द हुने प्रशासनले जनाएको छ। यद्यपि, सीमा क्षेत्रबाट आउने क्रम भने रोकिएको छैन। भारतबाट आएकाहरू सिधै सार्वजनिक सवारीसाधन चढेर घर पुग्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस