काँग्रेस संसदीय दलका नेता शाहीले गरे गाडी फिर्ता

सफल खबर संवाददाता

आइतबार, ०५ बैशाख २०७८, १८ : ४१
काँग्रेस संसदीय दलका नेता शाहीले गरे गाडी फिर्ता

सुर्खेत । काँग्रेस संसदीय दलका नेता एवम् प्रदेशसभा सदस्य जीवनबहादुर शाहीले आइतबार आफुले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन् । कर्णाली प्रदेशसभामा प्रतिपक्षको भूमिकामा रहेको नेपाली काँग्रेस पनि सरकारमा जाने भएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राखेको विश्वासको पक्षमा मतदान गरेसँगै काँग्रेस पनि सरकारमा जान चाहेको हो ।अब कर्णालीमा प्रतिपक्षको भूमिकामा काँग्रेस रहेन । 

प्रतिपक्ष दलका रुपमा उपभोग गर्दै आएको सरकारी गाडी शाहीले फिर्ता गरेका हुन् । ‘हामी अब प्रतिपक्षको भूमिकामा छैनौँ’ उनले भने, ‘अब हामी सरकारमा जान्छौँ’ एमाले प्रतिपक्षको भूमिकामा भएसँगै काँग्रेस तेस्रो दल भएको छ ।

कानुनविपरीत सेवा प्रयोग गर्न नचाहेर गाडी फिर्ता गरेको शाहीले बताए । काँग्रेसको तर्फबाट कोको मन्त्री बन्ने भन्नेबारे अहिलेसम्म टुङ्गो भने लागेको छैन ।  प्रदेशसभामा काँग्रेसका ६ जना सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस