प्रदेश १ को हिउँदे अधिवेशन बैठक बस्दै

सफल खबर संवाददाता

आइतबार, ०५ बैशाख २०७८, १२ : ५०
प्रदेश १ को हिउँदे अधिवेशन बैठक बस्दै

विराटनगर । प्रदेश १ को सातौं हिउँदे अधिवेशनको आठौं बैठक आज बस्दैछ। बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । आज बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी गरिएको छ ।

प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले प्रतिपक्षी दलहरुले अवरोध जारी राखेकाले हिउँदे अधिवेशन अन्त्यको तयारी भइरहेको बताए । उनले प्रक्रिया पूरा गरेर अधिवेशन अन्त्य गरिने बताए ।

प्रतिपक्षी दलहरू भने आजको बैठक पनि चल्न नदिने पक्षमा छन् । सत्तापक्षले माग सम्बोधन गर्न चासो नदिएका कारण बैठक अवरुद्ध हुने नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको भनाइ छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरु सुचारू गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका बहुवर्षे विकास आयोजनाको काम सुचारु राख्नुपर्नेलगायतका माग राख्दै बैठक अवरुद्ध गर्दै आएका छन् । जसका कारण बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

गत माघ ७ गतेबाट शुरू भएको प्रदेशसभा बैठक तीन महिनाको अवधिमा सात पटकमात्र बसेको छ । बसेका बैठक पनि सत्ता पक्ष र प्रतिपक्षको अवरोधका कारण अघि बढ्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस