सैन्य ‘कू’पछि म्यानमारमा सुरक्षाकर्मीका कारण कम्तिमा ५१ बालबालिकाको मृत्यु

एजेन्सी

शुक्रबार, ०३ बैशाख २०७८, ११ : ४३
सैन्य ‘कू’पछि म्यानमारमा सुरक्षाकर्मीका कारण कम्तिमा ५१ बालबालिकाको मृत्यु

 

म्यानमार । म्यानमारमा सेनाले शासन सत्ता हातमा लिएपछि भइरहेको प्रदर्शनको क्रममा कम्तिमा ५१ जन बालबालिकाको सुरक्षाकर्मीकै कारण निधन भएको रिपोर्ट सार्वजनिक भएको छ । 

गत फेब्रुअरी १ मा म्यानमारको सेनाले त्यहाँको निर्वाचित सरकारलाई अपदस्थ गरी राज्य सञ्चालनको अधिकार आफ्नो हातमा लिएको थियो । त्यसको विरोधमा म्यानमारका जनता सडकमा उत्रिएका थिए । सोही क्रममा बालबालिकाको मृत्यु भएको हो । 

संयुक्त राष्ट्रसंघको विवरणअनुसार राजनीतिक आन्दोलन चर्किरहेको म्यानमारमा सुरक्षाकर्मीका कारण अहिलेसम्म कम्तीमा ५१ बालबालिकाको मृत्यु भएको छ । आन्दोलनका क्रममा सुरक्षाकर्मीको तर्फबाट भएको हिंसामा परी उनीहरूको मृत्यु भएको राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजार्रिकका अनुसार आन्दोलनकारीको विरुद्ध सुरक्षाकर्मीले गरेको हिंसात्मक आक्रमणका क्रममा ती बालबालिकाहरूको मृत्यु भएको हो । साथै आन्दोलनमा लागेको आरोपमा झण्डै एक हजार बालबालिकाहरूलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको पनि राष्ट्रसंघले जनाएको छ ।

पछिल्लो संसदीय निर्वाचनमा नेतृ आङ सान सुकीको पार्टीले ल्याएको नतिजाप्रति असन्तुष्ट सेनाले फेरि निर्वाचन गराउने बाहनामा म्यानमारको सत्ता हातमा लिएको हो । सेनाले गत फेब्रुअरी १ मा शीर्ष नेताहरूलाई थुनामा राखेर सत्ता नियन्त्रणमा लिएको घोषणा गरेको थियो । 

सेनाले सत्ता कब्जा गरेयता भइरहेको प्रदर्शनका क्रममा म्यानमारमा अहिलेसम्म कम्तिमा ७०७ जनाको निधन भइसकेको छ । सेनाको कदमको सर्वत्र विरोध भइरहेको छ । 

सेनाले सत्ता लिनु गलत भएको भन्दै राष्ट्रसंघलगायतका विश्वव्यापी संस्था र विभिन्न देशहरुले म्यानमारलाई प्रजातान्त्रिक प्रक्रियामा फर्काउन पटक पटक आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस