पन्ध्र सामुदायिक वनमा आगलागी

रासस

आइतबार, २९ चैत्र २०७७, १८ : ५९
पन्ध्र सामुदायिक वनमा आगलागी

सांकेतिक तस्वीर

काठमाडौं । लगातारको खडेरीका कारण बैतडीका १५ भन्दा बढी सामुदायिक वनमा आगलागी भएको छ । सुख्खापनका कारण वनजङ्गलमा डढेलो लागेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।  

जिल्लाका १५ बढी सामुदायिक वनको १५५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले बताउनुभयो । जिल्लाको कूल क्षेत्रफलको ६२ प्रतिशत वन क्षेत्र रहेको छ ।

यहाँका अधिकांश वन जङ्गलमा आगलागी भएको दोगडाकेदार गाउँपालिका–३ का गणेश विष्टले बताउनुभयो । आगलागीका कारण काँचो रुखसमेत जलेर नष्ट भएका छन् । 

सामुदायिक वनमा आगलागी हुँदा स–साना बोटबिरुवा जलेर खरानी भएको स्थानीयवासीले बताएका छन् । वनमा भएको आगलागीका कारण वातावरणसमेत प्रदूषण भइरहेको छ ।

वन जङ्गलमा लागेको आगोले वर्षौंसम्म समस्या निम्त्याउने डिभिजन वन कार्यालयका प्रमुख  पराजुलीको भनाइ छ । खडेरीका कारण वन जङ्गलमा रुख आफैँ सुकिरहेका बेला आगलागीका कारण झन् समस्या भएको उहाँले बताउनुभयो ।

वन जङ्गलमा आगो लगाउँदा पालुवा राम्रो पलाउँछ र घाँस राम्रो हुन्छ भन्ने गलत सोचाइका कारण वन जङ्गलमा डढेलो लगाउने क्रम बढ्दै गएको छ । वन जङ्गलमा लागेको डढेलोका कारण पानीका मुहानसमेत सुक्दै गएका स्थानीयवासीले बताएका छन् । डढेलोको कारण समस्या निम्त्याउने भएकाले सावधानी अपनाउन वन कार्यालयले आग्रह रहेको छ ।  

प्रतिक्रिया दिनुहोस