राक्सिराङ गाउँपालिकामा २५ सय चेपाङ नागरिकताविहीन

सफल खबर संवाददाता

सोमबार, ०२ चैत्र २०७७, १६ : ५१
राक्सिराङ गाउँपालिकामा २५ सय चेपाङ नागरिकताविहीन

हेटौँडा । मकवानपुर जिल्लको राक्सिराङ गाउँपालिकामा चेपाङ समुदायका दुई हजार ५ सय जनाले अझैसम्म नागरिकता पाएका छैनन् ।

राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार गाउँपालिकामा चेपाङहरू समुदायका व्यक्तिहरु चेतनाको अभाव र गरिबीका कारण नागरिकता विहीन भएर बस्नु परेको हो । पालिकाका अधिकांश क्षेत्र विकट रहेकोले नागरिकता बनाउनका लागि हेटौंडा आउन चेपाङ समुदायलाई समस्या हुने गरेको उनले बताए ।

गाउँपालिकाको खैरांग लगायत विकट गाउँका स्थानीयहरु सदरमुकाम हेटौंडा आएर नागरिकता बनाउन तीन दिन खर्चिनुपर्ने बाध्यता छ । त्यसका लागि खर्चको अभावका कारण त्यस क्षेत्रका नागरिकहरु नागरिकता तथा अन्य सरकारी सेवाबाट बञ्चित हुनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

‘दैनिकी टार्न समेत हम्मेहम्मे पर्ने चेपाङहरू खर्चकै अभावका कारण सरकारी सेवा सुविधाबाट बञ्चित छन् । सरकारले दिने गरेको सामाजिक सुरक्षा भत्ताका बारेमा समेत उनीहरु जानकार छैनन्,’ अध्यक्ष मल्लले भने । नागरिकता नबनाएका कारण जग्गा नामसारी, व्यक्तिगत घटना दर्ता लगायतका काम गर्न कठिन भएको उनको भनाइ छ । नागरिकताबाट बञ्चित रहेको उक्त समुदायलाई गाउँमै शिविर लगेर नागरिकता वितरण गर्ने गृहकार्यमा आफु लागेको उनले बताए ।

‘हामीले केहीदिन अघिमात्रै पालिकाका करिब ७० जना चेपाङलाई जिल्ला प्रशासन कार्यालयमै लगेर नागरिकता वितरण गरेका छौं । घुम्ती शिविर सञ्चालनका लागि पहल गरिरहेका छौं । गाउँमा शिविर सञ्चालन गरी घरघरमा नै नागरिकता पुर्याउने योजनामा छौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस