भृकुटीमण्डपमा वैशाख २८ देखि क्‍यान इन्फोटेक

सफल खबर संवाददाता

सोमबार, ०२ चैत्र २०७७, १४ : ५९
भृकुटीमण्डपमा वैशाख २८ देखि क्‍यान इन्फोटेक

काठमाडौँ । सूचना प्रविधि क्षेत्रको बृहद मेला क्यान इन्फोटेक यस वर्ष आगामी वैशाख २८ देखि जेठ २ गतेसम्म भृकुटीमण्डपमा हुने भएको छ ।

आयोजक कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान) महासङ्घले यसै सन्दर्भमा आयोजना गरेको ‘मिडियामा सूचना प्रविधिको प्रयोग’ विषयक अन्तरक्रियामा वरिष्ठ पत्रकार प्रतीक प्रधानले सूचना प्रविधिको पहुँच र प्रयोग बढ्दो रहनु सकारात्मक भएको बताए । उनले यसबाट सिर्जना भएका कतिपय नकारात्मक गतिविधिलाई नियन्त्रण गरी प्रविधिको सही सदुपयोगका लागि ध्यान दिन जरुरी भएको पनि बताए ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सूचना प्रविधिको नियमन गर्ने फरकफरक निकाय भएकाले इन्टरनेट नियमन गर्न समस्या आएको बताए । उनले मिडियामा समावेश हुने विषयवस्तुलाई पनि जवाफदेही र जिम्मेवारी बनाउन अधिकार पाएको खण्डमा नियमन गर्न प्राधिकरण तयार रहेको बताए ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले इन्टरनेट नियमन गर्ने कि इन्टरनेटभित्रका विषयवस्तु प्रशोधन गर्ने भन्ने द्विविधा बढेको भन्दै सूचना प्रविधि क्षेत्रलाई सहज ढङ्गले अघि बढाइनुपर्नेमा जोड दिए । उनले कनेक्टिभिटी सहज हुँदाहुँदै पनि दुरुपयोग बढेको र यसबाट अपराध, आत्महत्याजस्ता गतिविधि बढेको बताए ।

प्रतिक्रिया दिनुहोस