म्यान्मारमा १२ जनाको हत्या, सडकमा बग्यो रगतको खोलो

एजेन्सी

शुक्रबार, २८ फागुन २०७७, १२ : ०९
म्यान्मारमा १२ जनाको हत्या, सडकमा बग्यो रगतको खोलो

file Photo

म्यानमार । म्यान्मारमा बिहीवार सैन्य शासकहरूले रगतको खोलो बगाएका छन् । उनीहरूले कम्तीमा १२ जनाको हत्या गरेको एक निगरानी समूहले जानकारी दिएको छ । 

संयुक्त राष्ट्रसंघका एक अधिकारीले सैन्य शासकहरूले शान्तिपूर्ण प्रदर्शनकारीको दमन मानवताविरुद्धको अपराधको हदमा पुगेको बताएका छन् । 
म्याइङ नामक सानो शहरमा प्रहरीले निहत्था मानिसमाथि गोली चलाउँदा कम्तीमा आठजनाको ज्यान गएको असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्सले जनाएको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्वीरमा शहरका सडकहरू रगतपच्छे भएको र शरीरहरू उत्रतत्र छरिएको देखिन्छ । 

एउटा वीभत्स तस्वीरमा टाउको फुटेको र गिदी सडकमा छरिएको समेत देखिन्छ । 
गत फेब्रुअरी १ मा सेनाले शासन हत्त्याएपछि देशका विभिन्न भागमा शान्तिपूर्ण प्रदर्शनमाथि क्रूर दमन गरिरहेको छ । 

देशको सबभन्दा ठूलो शहर यांगोनमा बिहीवार चित मिन थु नामक विरोधकर्तालाई नर्थ ड्रागन क्षेत्रमा हत्या गरिएको रोयटर्स समाचार संस्थाले जनाएको छ । पत्नी आये म्यात थुले घरैमा बस्नुस् भनी बिन्तीभाउ गर्दा पनि उनी विरोधमा निस्कन अड्डी कसेको बताइन् । 

‘स्वतन्त्रताका लागि ज्यान दिनु जायज छ भन्नुभयो,’ उनले बताइन् । ‘मानिस विरोध प्रदर्शनमा भाग नलिइरहेकोमा उनी चिन्तित थिए । मानिस बाहिर निस्केनन् भने देशमा लोकतन्त्र फर्किंदैन ।’

देशको लोकतान्त्रिक आमनिर्वाचनका परिणामलाई सेनाले अवैध ठहर गर्दै कू गरेपछि कम्तीमा ८० जनाले ज्यान गुमाइसकेको संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले जनाएको छ । सयौं मानिस घाइते छन् । 
हालैका दिनमा सेनाले पक्राउ गरेर हिरासतमा राखेका चारजनाको ज्यान गएको छ । 

कू भएयता दुई हजारभन्दा बढी मानिसलाई स्वेच्छाचारी रूपमा थुनामा राखिएको छ । उनीहरूलाई परिवार र इष्टमित्रको सम्पर्कमा आउन दिइएको छैन र उनीहरू कहाँ राखिएका छन् भन्ने पत्तो छैन । म्यान्मारको सरकारी पत्रिकाले बुधवार एक विज्ञप्ति जारी गरी विरोधकर्ताहरूमाथि न्यूनतम बल प्रयोग गरिएको बताएको छ ।

बिहीवार म्यान्मारमा मानवअधिकार समबन्धी संयुक्त राष्ट्रसंघीय विशेष प्रतिवेदक टप एन्ड्रुजले सेनाले निहत्था जनतामाथि सुनियोजित रूपमा मानवताविरोधी अपराधहरू गरिरहेको बताए । 
 

प्रतिक्रिया दिनुहोस