माधव–झलनाथको निष्कर्ष : ओली गतिविधिप्रति आपत्ति जनाएर वक्तव्य जारी गर्ने

सफल खबर संवाददाता

विहीबार, २७ फागुन २०७७, १६ : ३७
माधव–झलनाथको निष्कर्ष : ओली गतिविधिप्रति आपत्ति जनाएर वक्तव्य जारी गर्ने

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले  प्रधानमन्त्री केपी शर्मा ओलीको गतिविधिप्रति आपत्ति जनाउँदै वक्तव्य जारी गर्ने जनाएका छन् । 

खनाल र नेपाल निकट स्थायी कमिटी सदस्यहरुको छलफलले ओली पक्षबाट भइरहेको गतिविधिप्रति गम्भीर आपत्ति जनाएको छ । ओली पक्षका नेता तथा कार्यकर्ताबाट ठाउँठाउँमा पार्टी कार्यालय कव्जा गर्ने, धरपकड गर्ने, मुडभेडमा उत्रनेलगायतका गतिवधि गरेको माधव झलनाथ समूहले जनाएको छ । 
‘सर्वोच्च अदालतको फैसला अनुसार एमाले पुनर्स्थापित भएको हो । तर, अहिले ओली पक्षका नेता कार्यकर्ताले पार्टी फरक भएजस्तो व्यवहार गरेका छन्’, एक स्थायी कमिटी सदस्यले भने ।

फरक समूहलाई समर्थन गरेकै कारण आक्रमण गर्ने गतिविधि भएकाले खनाल र नेपालले बक्तव्य जारी गर्ने अन्तिम तयारी भइरहेको ती नेताले बताए । खनाल नेपाल समूहले एमाले सरकार बाँकी दुई वर्ष टिकाउन पहल गर्ने र त्यो सरकार वाम गठबन्धनको बनाउन लागि पर्ने जनाएको छ । 

अदालतको फैसलापछि सबै एकैपटक एमाले भएकाले कसैले कसैमाथि आरोप नलगाउन कसैले कसैमाथि आलोचना गर्नतर्फ नलाग्न माधव झलनाथ समूहले आग्रह गरेका छन् । अदालतको फैसलाको भावना विपरीत अर्थ लगाउने कार्य जारी रहे राजनीतिक प्रतिवाद गर्न तयार हुने पनि छलफलले निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस