आज महाशिवरात्रि मनाइँदै (फोटो फिचर)

सफल खबर संवाददाता

विहीबार, २७ फागुन २०७७, ११ : ४०
आज महाशिवरात्रि मनाइँदै (फोटो फिचर)

काठमाडौं । आज बिहीवार आराध्यदेव भगवान शिवको विशेष पूजा आराधना गरी देशभर शिवरात्रि मनाइँदैछ । काठमाडौंको पशुपतिनाथमा बिहीबार बिहानैदेखि चहलपहल बढेको छ । भक्तनहरूको घुइँचो लागेको छ । पर्वकै लागि पशुपति क्षेत्र सजाइएको छ ।

नेपालकै विभिन्न स्थानसहित भारतबाटसमेत साधुसन्त आइपुगेका छन् । शिवरात्रिमा भारतीय भक्तजन पनि उल्लेख्य हुने गरेका छन् । यसवर्ष पशुपतिको मूल मन्दिरमा प्रवेश गर्दा मास्क अनिवार्य गरिएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार बिहीबार बिहान ९ बजेसम्ममात्रै २ लाख जनाले पशुपतिमा दर्शन गरेको अनुमान गरिएको छ ।

यद्यपि पशुपतिनाथ मन्दिरमा यसवर्ष कोरोनाको प्रभावका कारण पोहोर सालको तुलनामा माहोल भने कम भएको छ । पशुपति मूल मन्दिर परिसरमा बस्ने नागाबाबाको संख्या पनि करिब १०० मात्र रहेको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयले जनाएको छ । विगत वर्षमा ४५० देखि ५०० नागाबाबा पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिको अवसरमा दर्शनमा आउने गरेको अभिलेख कार्यालयसँग छ ।

नागाबाबा सबैजसो भारतका विभिन्न स्थानबाट आउने गरेकोमा यस वर्ष कोरोनाका कारण संख्या घटेको कार्यालय प्रमुख उमा आचार्यले जानकारी दिइन् ।

कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले लाइनमा बसेका श्रद्धालुहरूलाई आधा घण्टामा नै मूल मन्दिर प्रवेश गर्न सक्ने गरी व्यवस्था गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस