म्यान्मारमा प्रदर्शनको कभरेज गरिरहेका पाँच वटा मिडियामाथि प्रतिबन्ध

एजेन्सी

मंगलबार, २५ फागुन २०७७, १४ : २४
म्यान्मारमा प्रदर्शनको कभरेज गरिरहेका पाँच वटा मिडियामाथि प्रतिबन्ध

म्यान्मार। म्यान्मारमा सुरक्षाबलले हिरासतमा लिएको दुई सय विद्यार्थीको समर्थनमा ठूलो प्रदर्शन भएको छ। सरकारले राति आठ बजेदेखि लगाएको कर्फ्यु तोड्दै प्रदर्शन गरिएको हो।

उक्त प्रदर्शनको कभरेज गरिरहेका पाँच वटा मिडियामाथि सरकारले प्रतिबन्ध लगाएको छ। आङ सान सूचीको निर्वाचित सरकार हटाएर गत महिना सेनाले त्यहाँ कू गरेको थियो। सेनाको कदमविरुद्ध म्यान्मारमा दिनहुँ विरोध प्रदर्शन हुँदै आएको छ ।

सरकारले मिडिया कभरेजलाई कडा प्रतिबन्ध लगाउँदै मिज्जिमा, डीभीबी खित थित मिडिया, म्यान्मार नाउ र सेभेन डेज न्युजको अनुमतिपत्र रद्द गरेको छ। यी मिडियालाई कुनै पनि मञ्च या प्रविधिबाट समाचार प्रसारण गर्ने अधिकार नभएको सरकारी च्यानल एमआर टीभीले बताएको छ।

प्रतिबन्ध लगाइएका सबै मिडियाले विरोध प्रदर्शनको प्रत्यक्ष प्रशारण गर्दै आएका थिए। प्रतिबन्ध लगाउनुअघि म्यान्मार नाउको कार्यालयमा सोमबार छापा मारिएको थियो। 

सरकारले सत्ता कब्जापछि दर्जनौं पत्रकारलाई हिरासतमा लिएको छ, जसमा म्यान्मार नाउका संवाददाता तथा एपीका थिन जौ पनि छन्। उनीमाथि अशान्ति फैलाएको आरोप छ, उनलाई तीन वर्ष सजाय हुन सक्छ।

प्रहरीले यांगुननजिक सानचौङमा घेराबन्दी गरेर घरघरमा जाँच गरेको छ। त्यसपछि विरोध प्रदर्शन झनै बढेको छ। प्रहरीको खानतलासीबारे सामाजिक सञ्जालमा लेख्न थालेपछि मानिसहरुले थाहा पाए र तत्कालै विरोध प्रदर्शनमा उत्रिन थाले। इन्सिन जिल्लामा मानिसहरु लोकतन्त्र बहालीको मागसहित प्रदर्शन भएको छ।

कर्फ्यु तोडेर सडकमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच मध्यरातसम्म झडप भएको थियो। केही स्थानमा प्रहरीले रबरको गोली प्रयोग गरेको थियो। 

प्रतिक्रिया दिनुहोस